पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

याङवरकको ऐसेलुटारमा चिज उत्पादन केन्द्रको उद्घाटन

चिन्तन खबर

याङवरक गाउँपालिका वडा नं. ५ ऐसेलुटारमा स्थापना भएको चिज उत्पादन केन्द्रको आज उद्घाटन भएको छ ।

याङवरक गाउँपालिका र वडा नं. ५ को कूल रु. ८ लाखको लागतमा उक्त केन्द्र स्थापना भएको हो । आज आयोजित कार्यक्रममा याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले केन्द्रको उद्घाटन गर्नुभयो । प्रशस्तै दूध उत्पादन हुने यस स्थानमा चिज उत्पादन गरी स्थानीयवासीको दीर्घकालीन आम्दानीको स्रोत बनाउने, पशुपालन तथा दूध उत्पादनमा बढावा दिई रोजगारी सिर्जना गर्ने र गुणस्तरीय चिज विदेशसम्म निर्यात गर्ने उद्देश्यसहित चिज उत्पादन केन्द्र स्थापना भएको हो । दूग्ध विकास संस्थान, दूग्ध पदार्थ विक्री वितरण आयोजनाअन्तर्गत उक्त केन्द्र स्थापना भएको हो ।

चिउ उत्पादन केन्द्रको स्थापनाले पशुपालक स्थानीयवासीलाई ठूलो राहत मिल्नुका साथै पशुपालन र दूध उत्पादनमा हौसला मिल्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष घिमिरेले वताउनुभयो । चिजका अतिरिक्त शुद्ध दूधबाट दूग्धजन्य सामग्री उत्पादन गरी याङवरक गाउँपालिकाको पहिचान बनाउन समेत उक्त केन्द्र सफल हुने अध्यक्ष घिमिरेले विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा याङवरक–५ का वडाध्यक्ष टेकनाथ न्यौपानेले चिज उत्पादन केन्द्रको स्थापनाले स्थानीय दूध उत्पादक कृषकहरुलाई ब्यवसायिक बनाउन तथा गुणस्तरीय दूग्ध सामग्री उत्पादन गर्न मद्दत गर्ने वताउनुभयो । केन्द्रको नियमित सञ्चालनका लागि सबै पक्षबाट निरन्तर सहयोग हुनुपर्नेमा न्यौपानेले जोड दिनुभयो ।

उत्पादन केन्द्रका लागि गत वर्ष नै दुई तले भवन निर्माण भइसकेको थियो । उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष घिमिरेले केन्द्रका लागि पक्की र ब्यवस्थित भवन निर्माण आवश्यक रहेको भन्दै त्यसका लागि पहल गर्ने वचन दिनुभयो । चिज उत्पादन केन्द्रमा अहिले दैनिक २०० लिटरसम्म दूध सङ्कलन हुने गरेको केन्द्रका अध्यक्ष कालिन्द्र तावाले जानकारी दिनुभयो ।

कार्यक्रममा याङवरक गाउँपालिकाका कार्यपालिका सदस्यहरु, गाउँपालिकाका विभिन्न विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरु, स्थानीय राजनीतिक दल तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीयवासीहरु लगायतको समेत सहभागिता थियो । कार्यक्रममा केन्द्रको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाता, खानेपानीको मुहान उपलब्ध गराउने तथा खानेपानीको प्रवन्ध गर्न सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको थियो ।