पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हिलिहाङ–४ का ४५ काँग्रेस क्रियाशील सदस्यद्वारा नेकपा (एस)लाई वडाध्यक्ष दिने निर्णय अस्वीकार

चिन्तन खबर

फिदिम । पाँचथरमा सत्तारुढ पाँच दलीय गठबन्धनले तालमेल गरी स्थानीय तह निर्वाचनमा जान गरेको निर्णय सार्वजनिक हुन नपाउँदै प्रमुख दल नेपाली काँग्रेसका स्थानीय कार्यसमितिले निर्णय अस्वीकार गर्ने क्रम जारी छ । यस क्रममा जिल्लाको हिलिहाङ–४ को वडा कार्यसमिति सहित काँग्रेसका ४५ जना क्रियाशील सदस्यले गठबन्धनबाट उक्त वडाको वडाध्यक्ष नेकपा (एकीकृत समाजवादी)लाई दिने निर्णय अस्वीकार गर्ने जनाएका छन् ।

वडा कार्यसमितिका सभापति योगराज भण्डारी, उपसभापति धनबहादुर शिगू, सचिवद्वय वेदनिधि अधिकारी र नरेन्द्र बजगाँइ सहित उक्त वडाका ४० बढी क्रियाशील सदस्यले उक्त निर्णय अविलम्ब सच्याउन माग गरेका छन् । उनीहरुले वडामा काँग्रेसका तर्फबाट वडाध्यक्षको उम्मेद्वार टुङ्ग्याई सकिएको, वडामा काँग्रेसको मत राम्रो रहेको र मजबुद संगठन भएको अवस्थामा पनि जिल्ला कार्यसमितिले हस्तक्षेप गरी ‘कोठे बैठक’बाट भागबन्डा गरिएको भन्दै आपत्ति जनाएका छन् ।

एकीकृत समाजवादीले वडाध्यक्ष दिने निर्णयले स्थानीय कार्यकर्ताको भावनालाई कुण्ठित गरेको भन्दै उनीहरुले निर्णय अस्वीकार गर्ने वताएका छन् । उनीहरुले जिल्ला नेतृत्वलाई ‘सामन्ती सोचबाट भरिएका नेतागण’ भनेका छन् । ‘पाँच दलीय गठबन्धनले बनाएको चुनावी रणनीति स्वीकार गर्न केन्द्रीय तथा जिल्लाका केही सामन्ति सोचबाट भरिएका नेतागणहरुबाट भएको हस्तक्षेप स्वीकार गर्न नसकिने जानकारी गराउदछौं’, प्रेस विज्ञप्तिमा भनिएको छ ।

हिलिहाङ–४ का काँग्रेस नेता कार्यकर्ताले निर्णय अविलम्ब सच्याउन आग्रह गर्दै निर्णय नसच्चिए मैत्रीपूर्ण रुपमा चुनावी बाटोमा जाने बाटो खुल्ला रहने जनाएका छन् । यसअघि हिलिहाङमै काँग्रेसको वडा नं. ५ वडा कार्यसमितिले उक्त वडाको वडाध्यक्ष नेकपा (माओवादी केन्द्र)लाई दिने निर्णय अस्वीकार गर्ने जनाइसकेको छ ।