पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फालेलुङमा गठबन्धनका थाम्सुहाङ र जबेगू विजयी

चिन्तन खबर

फिदिम । पाँचथरको फालेलुङ गाउँपालिकामा नेपाली काँग्रेस सहितको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । एउटा वडाको वडाध्यक्ष र तीन सदस्य बाहेक गाउँपालिकाका सबै पदमा गठबन्धन विजयी भएको हो ।

फालेलुङको अध्यक्षमा काँग्रेसका वीरविक्रम थाम्सुहाङ पाँच हजार ७७९ मत सहित विजयी हुनुभयो । अध्यक्षमा नेकपा (एमाले)का जयप्रकाश केरुङले दुई हजार ६२१ मत प्राप्त गर्नुभएको छ । अध्यक्षमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कुमार केरुङले १८८, मंगोल नेशनल अर्गनाइजेसनका टुकप्रसाद थाम्सुहाङले १५७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका देविन्द्र खत्रीले १४८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय फालेलुङले जनाएको छ ।

फालेलुङको उपाध्यक्षमा माओवादी केन्द्रका महेन्द्रहाङ जबेगू विजयी हुनुभएको छ । जबेगू पाँच हजार २१४ मतसहित विजयी हुँदा एमालेका सुजता बान्तवा राईले दुई हजार ८७५ मत प्राप्त गर्नुभयो । अघिल्लो पटक झिनो मतान्तरले गाउँपालिका अध्यक्षमा पराजित जबेगू यस पटक गाउँपालिका उपाध्यक्षको उम्मेदवार भई विजयी हुनुभएको हो ।

फालेलुङमा वडा नं. १ मा टेकबहादुर गुरागाँई, वडा नं. २ मा तिलबहादुर खत्री, वडा नं. ३ मा शक्तिप्रसाद केरुङ, वडा नं. ४ मा सन्तवीर राई, वडा नं. ५ मा भरतकुमार खपाङ्गी, वडा नं. ६ मा अमरवीर राई, वडा नं. ७ मा टेकबहादुर केरुङ र वडा नं. ८ मा श्रीहाङ केरुङ वडाध्यक्ष विजयी हुनुभएको छ ।

अघिल्लो निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पहिलो र दोश्रो मत ल्याएका काँग्रेस र माओवादी तथा तेश्रो मत ल्याउने एमालेका उम्मेदवार कमलप्रसाद जबेगू समेत गठबन्धनमा आवद्ध थिए । अघिल्लो निर्वाचनमा दुई वटा वडा जितेको एमालेले भने यस पटक कुनै पदमा विजय हाँसिल गर्न सकेन ।