फिदिम । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पाँचथरबाट १६ खेलमा खेलाडी छनौट हुने भएका छन् ।
जिल्ला खेलकुद विकास समिति पाँचथरका अनुसार प्रदेश नं. १ प्रदेश खेलकुद विकास बोर्डले पाँचथर जिल्लालाई विभिन्न १६ खेलमा खेलाडी छनौट गर्ने कोटा निर्धारण गरेको छ । जसअनुसार भदौ १ गतेबाट खेलाडी छनौट सुरु भएको हो । जिल्लामा छनौट भएका खेलाडी प्रदेश खेलकुद प्रतियोगितामा सहभागी हुने र प्रदेश खेलकुद प्रतियोगिताबाट छनौट भएपछि नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन पाउँछन् ।
पाँचथर जिल्लबाट फुटवल, भलिवल, ब्याडमिन्टन, तेक्वान्दो, कराँते, बक्सिङ, टेवलटेनिस, कबड्डी, उसु, वुद्धिचाल, कुस्ती, एथ्लेटिक्स, फुलकन्ट्रयाक्ट कराँते, जुडो, रक्दी र आइटीएफ तेक्वान्दोका खेलाडी छनौट हुन लागेको जिल्ला खेलकुद विकास समिति पाँचथरले जनाएको छ ।
प्रदेश खेलकुद विकास बोर्डले भोलिबाट प्रदेशका सबै जिल्लामा खेलाडी छनौट गर्दैछ । पाँचथरमा भने पूर्वघोषित कार्यक्रम भएकाले खेलाडी छनौटको कार्य सुरुआत भइसकेको जिल्ला खेलकुद विकास समिति पाँचथरका कार्यालय प्रमुख दुस्यन्त बस्नेतले जानकारी दिनुभयो । रक्दी खेलको छनौट तालिका तय भइनसकेकाले छनौट कार्य यहि भदौ ९ गतेभित्र सम्पन्न गर्ने तयारी गरिएको बस्नेतले जानकारी दिनुभयो ।
खेलमैदान तथा अन्य संरचनाको अभावले खेलाडी छनौटको कार्य यस पटक सदरमुकामभन्दा बाहिर समेत भइरहेको छ । जसअनुसार फुटवल सिद्धदेवी माध्यमिक विद्यालयको खेलमैदान नवमीडाँडा, भलिवल रणसेर गणको खेलमैदान ओदिन, एथ्लेटिक्स सद्धदेवी माध्यमिक विद्यालयको खेलमैदान नवमीडाँडा र आइटीएफ तेक्वान्दो याङवरक–३ ओयाममा हुने छनौट खेलबाट छनौट हुन लागेको हो ।
जिल्लामा चेसको छनौट कार्य भदौ १ गतेबाट सुरु भएको छ । जुडो र आइटीएफ तेक्वान्दोको छनौट हिँजोबाट तथा फुटवल, भलिवल, कबड्डी र कुस्तीको छनौट आजबाट सुरु भएको छ ।
बाँकी खेलको आइतवार, सोमवार र मंगलबारबाट छनौट सुरु हुन लागेको छ । जिल्लाबाट छनौट हुने खेलाडीको संख्या प्रदेश खेलकुद विकास बोर्डले भोलिमात्रै यकिन गर्न लागेको र सोही अनुसारको तयारी गरिएको जिल्ला खेलकुद विकास समिति पाँचथरका कार्यालय प्रमुख बस्नेतले जानकारी दिनुभयो ।
हेर्नुहोस् छनौट तालिका
प्रतिक्रिया