काठमाडौँ । भारतमाथि ऐतिहासिक जित हात पार्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
शुक्रबार त्रिपुरेश्वरस्थत दशरथ रंगशालामा भएको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतमाथि १–० को जित हात पारेको हो । महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतलाई हराएको यो नै पहिलो पटक हो ।
नेपालले पहिलो हाफको इन्ज्युरी समयमा अग्रता लिएको थियो । रश्मीकुमारी घिसिङले गोल गर्दै नेपाललाई अघि बढाइन् । उनले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्र भित्र संयमित भएर नियन्त्रणमा लिँदै गोल गरिन् । दोस्रो हाफमा गोल नथपे पनि नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई खेलमा फर्किने अवसर दिएनन् ।
२०१६ मा पनि कुमार थापा प्रशिक्षक रहेकै बेला नेपाल सेमिफाइनलमा पराजित भएको थियो । त्यसपछि पहिलो पटक महिला टोलीको प्रशिक्षक बन्ने अवसर पाएका थापाले मिठो बदला पनि लिएका छन् । नेपाल फाइनलमा पुगेको भने यो पाँचौं पटक हो ।
तर चार पटक नै नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । यसअघि पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ । भुटानलाई ८–० हराउँदै बंगलादेश दोस्रो पटक फाइनलमा पुगेको हो । फाइनल खेल सोमबार हुनेछ ।
प्रतिक्रिया