फिदिम । यहि असोज २८ गतेबाट गण्डकी प्रदेशको पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पाँचथरका १९ जना खेलाडी सहभागी हुने भएका छन् । विभिन्न १७ खेलमा १ नम्बर प्रदेश स्तरीय छनौट प्रतियोगिताबाट १२ खेलमा पाँचथरका १९ खेलाडी छनौट भएका हुन् ।
पाँचथरबाट पुरुष फुटवलमा एक, महिला फुटवलमा एक, आइटिएफ तेक्वान्दो पुरुषमा दुई, आइटिएफ तेक्वान्दो महिलामा एक, फुलकन्ट्याक्ट कराँते महिलामा तीन, पुरुष शारीरिक सुगठनमा एक, जुडो पुरुषमा एक, कुस्ती पुरुषमा एक, कुस्ती महिलामा दुई, रग्बी पुरुष र महिलामा दुई/दुई तथा पुरुष वुद्धिचालमा एक खेलाडी छनौट भएका जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिनुभयो ।
छनौट भएका खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समिति पाँचथरले विहीवार फिदिममा बधाई तथा शुभकामना कार्यक्रममार्फत बधाई ज्ञापन गरेको छ । प्रदेश स्तरीय छनौट प्रतिस्पर्धामा पाँचथरले ११ वटा स्वर्ण जितेको थियो ।
प्रदेश नं. १ का विभिन्न जिल्लामा गत भदौ २९ गतेदेखि असोज ८ गतेसम्म सञ्चालित प्रदेश छनौट प्रतिस्पर्धामा पाँचथरले आइटीएफ तेक्वान्दोमा तीन, फुलकन्ट्याक्ट कराँतेमा तीन, कुस्तीमा ३, जुडो र शारीरिक सुगठन एक/एक वटा स्वर्ण पदक प्राप्त गरेको थियो ।
प्रतिक्रिया