झापा । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केही दिनभित्रै मन्त्रीहरुको कार्यविभाजन हुने बताउनुभएको छ । उहाँले मन्त्रिपरिषदमा रहेका सदस्यलाई आगामी सोमबारभित्र जिम्मेवारी तोकिने उल्लेख गर्नुभयो ।
झापाको गौरादहमा आज पत्रकारहरुसँग कुरा गर्दै उहाँले सत्तासाझेदार दलहरुसँगको परामर्शमा कार्यविभाजन गरिने बताउनुभयो । उहाँले मन्त्रालयको सङ्ख्या नौ पुर्याइएको र त्यसैअनुसारको कार्यविभाजन गरिने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद्को विस्तारसँगै साझा कार्यक्रम ल्याइने र सोहीअनुसार प्रदेश सरकारले काम अघि बढाउने बताउनुभयो । उहाँले सुशासन कायम राख्नका लागि सरकारले काम अघि बढाउने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले आम सहमतिका आधारमा प्रदेशको नामाकरण गरिने र त्यसका लागि प्रदेशसभामा रहेका सबै दलबीच सहमति कायम राख्ने अधिकतम कोसिस गरिने जानकारी दिनुभयो । प्रदेश नं. १ मा नेकपा (एमाले)बाट दुई, नेकपा (माओवादी केन्द्र)बाट दुई तथा राप्रपा र जसपाबाट एक÷एक जना मन्त्री नियुक्त भएपनि कार्यविभाजन भएको छैन् ।
प्रतिक्रिया