फिदिम । पूर्वी नेपालका चार जिल्लालाई जोड्ने राँके–रबि–भेडेटार सडक निर्माण कार्यमा ५० महिनाको अवधिमा २५ प्रतिशत प्रगति भएको छ ।
१४ महिनाअघि निर्माण सम्पन्न हुनुपर्ने सडक निर्माणका क्रममा ट्र्याक विस्तार गर्ने, पर्खाल हाल्ने तथा ढलानको तयारी गर्ने कार्य भइरहेको छ । संघीय सडक डिभिजन कार्यालय इलामका प्रमुख विदुर पोखरेलका अनुसार निर्माण कार्यमा करीब चार वर्षको अवधिमा १८ प्रतिशत भौतिक प्रगति भएको थियो । पछिल्ला तीन महिनामा निर्माण कम्पनीले थप ७ प्रतिशत भौतिक प्रगति हाँसिल गरेको पाइएको उहाँले वताउनुभयो ।
ठेक्का पाएको भारतीय निर्माण कम्पनी एप्को इन्फ्राटेक प्रा.लि.ले पछिल्लो समय नेपाली निर्माण कम्पनीहरुको सहायता लिई निर्माण अघि बढाएपछि थप प्रगति देखिएको हो । अहिले उक्त सडकको पाँचथर र इलाममा पर्ने राँके–रबि खण्डको २८ किलोमिटरमा सडकको ट्र्याक विस्तार गर्ने तथा पर्खाल हाल्ने कार्य भइरहेको छ । यस्तै धनकुटामा पर्ने छ नम्बर बुधबारे बजार–भेडेटार खण्डमा ट्र्याक विस्तारको कार्य सम्पन्न भई कालोपत्रका लागि ‘बेस’ हाल्ने कार्य सुरु भएको डिभिजनका प्रमुख पोखरेलले वताउनुभयो ।
सडकको १०१ किलोमिटरमध्ये सन् २०२३ भित्र ५० किलोमिटर कालोपत्र सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिवद्धता रहेको उहाँको भनाई छ । “निर्माण कम्पनीले ५० किलोमिटर कालोपत्रे गर्ने भनेपनि अहिलेको रफ्तार कायम रहे सन् २०२३ मा निर्माण कार्यमा न्यूनतम ४० प्रतिशत प्रगति हुने हामीले अनुमान गरेका छौं”, डिभिजन प्रमुख पोखरेलले भन्नुभयो, “ठूलो प्याकेज भएका कारण अहिले जसरी नै स्थानीय निर्माण ब्यवसायीको साथ लिए लक्ष्य पूरा हुन सक्ने देखिन्छ ।”
५० महिनाको अवधिमा यो सडक निर्माणका लागि तीन पटक म्याद थप भइसकेको छ । सन् २०१८ नोभेम्बर १ मा तीन वर्ष अर्थात २०२१ डिसेम्बर २ भित्र निर्माण सम्पन्न गर्ने गरी भारतीय निर्माण कम्पनी एप्को इन्फ्राटेक प्रा.लि.सँग सम्झौता भएको थियो । निर्धारित अवधिमा निर्माण कम्पनीले करीब १४ प्रतिशत भौतिक प्रगति हाँसिल गरेको थियो । निर्माण कम्पनीले निर्माण कार्यका लागि प¥याप्त जनशक्ति र उपकरणको परिचालन गर्न नसक्दा काम अघि बढ्न सकेको थिएन भने अवरोध हटाउन आवश्यक समन्वय समेत हुन सकेको थिएन ।
भारत सरकारको सहुलीयतपूर्ण ऋण सहयोगमा सडक निर्माण भइरहेका कारणका निर्माणका लागि खरिद हुने सम्पूर्ण सामग्रीको ५१ प्रतिशत सामग्री भारतबाट आयात गर्नुपर्ने प्रावधान छ । जसकारण निर्माण कम्पनीले सहजै निर्माण सामग्री आयोजनास्थलसम्म ल्याउन सकेको छैन् । सामग्री खरिदसहितका प्रावधानलाई सहज बनाउन नेपाल सरकारले पहल गरेको भनिएपनि खुकुलो ब्यवस्था हुन सकेको छैन् ।
सडक क्षेत्रमा पर्ने रुख कटानी, निजी तथा सामुदायिक संरचना हटाउने, विद्युतका पोल सार्नेजस्ता कार्य दुई वर्षसम्म हुन नसक्दा सडक विस्तार कार्य अवरुद्धजस्तै भएको थियो । यस्तै कोभिड–१९ को प्रकोपका कारणसमेत निर्माण कार्य अवरुद्ध हुन पुगेको थियो ।
तेश्रो पटक म्याद थप गरी सन् २०२४ अगस्ट २८ सम्म पु¥याइएको डिभिजन प्रमुख पोखरेल वताउनुहुन्छ । “निर्माण कार्य अघि बढाउन अव कुनै समस्या नरहेकाले निर्धारित मितिमा काम सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिवद्धता छ”, पोखरेलले भन्नुभयो, “तर हाम्रो आँकलन चाहिँ सो समयसम्ममा न्यूनतम ७० प्रतिशत काम हुनेछ ।”
इलाम, पाँचथर, धनकुटा, मोरङ जिल्लालाई समेट्ने यो सडक भारतीय एक्जिम बैङ्कको सहुलीयतपूर्ण ऋण सहयोगमा निर्माण थालिएको थियो । भारतको एक्जिम बैङ्क अफ इन्डियाको ८७ प्रतिशत र नेपाल सरकारबाट १३ प्रतिशत गरी कूल रु. ३ अर्ब ६५ करोड ८४ लाख ९५ हजार ५७२ को लागतमा सडक कालोपत्रको काम अघि बढाइएको थियो ।
७ मिटर चौडा, दुबैतर्फ १/१ मिटर नाली सहित ९ मिटरको सडक निर्माण गर्ने सम्झौतामा उल्लेख छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भारत सरकारले यो सडक निर्माणमा सहुलीयतपूर्ण ऋण उपलब्ध गराउने घोषणा गरेको थियो ।
पहाडी र उच्च पहाडी क्षेत्र हुँदै निर्माण हुने यो सडकमा एउटा पनि पूल छैन् । स–सानाबाहेक ठूला चट्टान तथा अवरोध समेत छैन् । तर निर्माण कम्पनीले समयका काम नगरेपछि यहाँका स्थानीयवासीले ठूलो सास्ती भोग्दै आएका छन् । हिलोका कारण विशेषत वर्षायामका समयमा यो सडक पूर्णत अवरुद्ध हुने गर्दछ । जसकारण विरामीलाई अस्पताल पु¥याउनेदेखि खाद्यान्न ढुवानीजस्ता कार्यसमेत प्रभावित हुने गरेका छन् ।
प्रतिक्रिया