फिदिम । पाँचथरमा भोलिबाट फिदिम भेट्रान्स कप फुटवल प्रतियोगिता सञ्चालन हुँदै छ ।
फिदिम भेट्रान्स, पाँचथरको आयोजनामा फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडा स्थित सिद्धदेवी माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने छ । पूर्व खेलाडीहरुलाई विगतका दिनहरु स्मरण गराउँदै भेटघाट गराउने, स्वस्थ रहन प्रेरित गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा आयोजक सहित जिल्लाका ६ र जिल्ला बाहिरका २ टोलीले सहभागिता जनाउने फिदिम भेट्रान्सका सहसंयोजक भुपेन्द्र थापा मगरले जानकारी दिनुभयो ।
प्रतियोगितामा आयोजकसहित जिल्लाका रानीटार भेट्रान्स, सुम्हात्लुङ भेट्रान्स, मिक्लाजुङ गाउँपालिका, फाल्गुनन्द गाउँपालिका, कुम्मायक गाउँपालिका तथा जिल्ला बाहिर आठराई गाउँपालिका तेह्रथुम र इलाम भेट्रान्सले सहभागिता रहने आयोजकले जनाएको छ । भोलि र पर्सी सञ्चालन हुने प्रतियोगिताको विजेताले रु. ५० हजार पुरस्कार सहित ट्रफी र मेडल तथा उपविजेताले रु. २५ हजार सहित ट्रफी लगायतका पुरस्कार प्राप्त गर्ने छ ।
प्रतियोगितामा ३५ वर्ष माथिका खेलाडीले सहभागिता जनाउने छन् । भेट्रान्सको मापदण्डअनुसार सबै टिममा ४० वर्ष माथिका खेलाडीको संख्या नपुग्ने भएपछि ३५ वर्ष माथिका खेलाडीलाई सहभागी गराउन लागिएको आयोजकको भनाई छ ।
रु. ५ लाखको लागतमा प्रतियोगिता सम्पन्न गर्ने योजना बनाइएको फिदिम भेट्रान्सका कमल थपलियाले जानकारी दिनुभयो । आयोजकले सहयोगी निकाय तथा ब्यक्तिहरुबाट लागत रकम सङ्कलन गर्ने जनाएको छ ।
आयोजकले भोलिबाट हुने प्रतियोगिताको खेल तालिका समेत आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । जसअनुसार शुक्रवार ११ बजे आठराई गाउँपालिका र कुम्मायक गाउँपालिका, १२ः४५ बजे रानीटार भेट्रान्स र फाल्गुनन्द गाउँपालिका, २ः१५ बजे फिदिम भेट्रान्स र सुम्हात्लुङ भेट्रान्स तथा ४ बजे इलाम भेट्रान्स र मिक्लाजुङ गाउँपालिकावीच प्रतिस्पर्धा हुने छ ।
सेमीफाइनल र फाइनल खेल शनिवार सम्पन्न हुने आयोजकले जनाएको छ । जिल्लामा यसअघि मिक्लाजुङ गाउँपालिकाको रबिमा भेट्रान्स फुटवल प्रतियोगिता सम्पन्न भएको थियो ।
प्रतिक्रिया