फिदिम । पाँचथरको फिदिममा जारी प्रथम वाईवाई अन्तराष्ट्रिय आमन्त्रित किराँत गोल्डकप फुटबल प्रतियोगितामा झापाको बिर्तामोड युनाईटेड फुटबल क्लब सेमीफाइनल पुगेको छ ।
फिदिम माविको मैदानमा आईतबार भएको खेलमा इलामको रेड हर्ष फुटबल क्लबलाई १–० गोलले पराजित गर्दै बिर्तामोडले सेमी फाइनलको स्थान पक्का गरेको हो ।
बिर्तामोडको संघर्षपूर्ण जितका लागि श्याम मुर्मुले एक गोल गरे । खेल सुरु भएको २० औँ मिनेटमा मुर्मुले गोल गरेर टिमलाई जित दिलाए । निकै प्रतिस्पर्धात्मक गोल गर्न नसक्दा पहिलो चरणको खेलबाटै इलाम बाहिरिनुप¥यो ।
आईतबारको खेलमा बिर्तामोडका गोलकर्ता श्याम मुर्मु म्यान अफ दी म्याच घोषित भए । उनलाई कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपाने र आयोजक पाँचथर फुटबल क्लबका अध्यक्ष अनुराग केप्छाकी मगरले पाँच हजार नगद पुरस्कार प्रदान गरे ।
सोमबार हुने प्रतियोगितामा डीएफसी मोरङको सामना युनाईटेड फुटबल क्लब दार्जिलिङले गर्नेछ । प्रतियोगितामा जम्मा आठ टिमले सहभागिता जनाएको आयोजक पाँचथर फुटबल क्लबले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले चार लाख चार हजार चार सय ४४ रुपैँया र दोस्रो हुनेले दुई लाख दुई हजार दुई सय २२ रुपैँयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रत्येक खेलको म्यान अफ दी म्याचलाई पाँच हजार, प्रतियोगिताको उत्कृष्ठ खेलाडीलाई १० हजार र म्यान अफ दी सिरिजलाई २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यो जिल्लाकै सार्बाधिक पुरस्कार राशिको गोल्डकप हो ।
प्रतिक्रिया