फिदिम । पाँचथरको फिदिममा जारी प्रथम किराँत गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा विर्तामोड युनाइटेड क्लब झापा बिजयी भएको छ ।
रेडहर्स फुटबल क्लब इलामलाई १–० गोलअन्तरले पराजीत गर्दै विर्तामोड सेमिफाइनलमा प्रवेश गरेको हो । अनुभवी खेलाडीहरुले भरिएको विर्तामोडका लागि श्याम मुर्मुले २२औं मिनेटमा गरेको गोल नै विजयका लागि प¥याप्त बन्यो । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने प्रयास गरेपनि सफल नहुँदा मुर्मुको गोल नै निर्णायक बन्यो ।
आजको खेलको उत्कृष्ट खेलाडी (म्यान अफ दी म्याच) घोषित हुँदै गोलकर्ता मुर्मुले रु. ५ हजार रकम, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । शनिवारबाट सुरु प्रतियोगितामा भोलि डाँगीहाट फुटबल क्लब मोरङ र युनाइटेड फुटबल क्लब दार्जिलिङ भारतवीच प्रतिस्पर्धा हुने आयोजक संस्था पाँचथर फुटवल क्लबका अध्यक्ष अनुराग मगरले जानकारी दिनुभयो ।
निर्माणाधीन अवस्थामा रहेको फिदिम बजारस्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदानलाई मर्मत गरी प्रतियोगिता आयोजना गरिएको छ । खेलमैदानमा दर्शकका लागि बाँसको अस्थायी प्याराफिट निर्माण गरिएको छ । प्रतियोगिताको बिजेताले रु. चार लाख चार हजार ४४४ र उपबिजेताले रु. दुई लाख दुई हजार २२२ सहित ट्रफी हात पार्नेछन् ।
प्रतियोगिताअन्तर्गत शनिवार भएको उद्घाटन खेलमा आयोजक पाँचथर फुटबल क्लबले मितेरी फुटबल क्लब तेह्रथुमलाई २–० गोलअन्तरले पराजीत गरेको थियो ।
प्रतिक्रिया