फिदिम । पाँचथरको फिदिममा आयोजित किराँत गोल्डकप फुटवल प्रतियोगिताको प्रथम संस्करणको उपाधि डाँगीहाट फुटवल क्लब (डीएफसी) मोरङले उचालेको छ ।
आज भएको फाइनल खेलमा विर्तामोड युनाइटेड क्लब झापालाई २–१ गोलअन्तरले पराजीत गर्दै मोरङले उपाधि उचालेको हो । खेल अवधिभर आक्रामक खेल प्रदर्शन गरेको मोरङले मध्यान्तरअघि नै दुई गोल गरेको थियो । मोरङका सञ्जय धिमालले खेलको नवौं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए ।
खेलको पहिलो हाफकै अतिरिक्त समयमा मोरङका उमेश राईले गोल गर्दै आफ्नो टिमको अग्रता फराकिलो पारे । झापाका लागि खेलको दोश्रो हाफको अतिरिक्त समयमा योगेश गुरुङले सान्तवना गोल फर्काएका थिए ।
मोरङले खेलको सुरुआत निकै आकर्षक रुपमा गरेको थियो । पहिलो मिनेटमै गोलको अवसर पाएपनि मोरङ गोल गर्न सफल भएन । पाचौं मिनेटमा पाएको कर्नर पनि मोरङले गोलमा परिणत गर्न सकेन । पहिलो हाफकै २६औं र ३०औं मिनेटमा झापाले गरेका आकर्षक प्रहारलाई मोरङका गोलरक्षक प्रमिजय गच्छदारले असफल पारिदिए ।
मध्यान्तरअघि निकै दबावमा परेको झापाले मध्यान्तरपछि खेलमा फर्कन प्रयास गरेपनि सफल हुन नसक्दा उपविजेतामा चित्त बुझाउन बाध्य बन्यो । मोरङको बलियो रक्षापङ्ती झापाका लागि भारी पर्न गएको थियो ।
उपाधि जीतेसँगै मोरङले रु. चार लाख चार हजार ४४४ रकम तथा उपविजेता झापाले रु. दुई लाख दुई हजार २२२ रकम, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजेता टोलीलाई कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगूले ट्रफी, मेडल र चेकको नमूना हस्तान्तरण गर्नुभयो ।
पाँचथर फुटवल क्लबले आयोजना गरेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मोरङका अभिषेक लिम्बू घोषित हुँदै रु. २५ रकम र मेडल प्राप्त गर्नुभयो । यस्तै मोरङकै सञ्जय धिमाल तीन गोल गर्दै प्रतियोगिताको सर्वाधिक गोलकर्ता घोषित भई रु. १५ रकम र मेडल प्राप्त गर्नुभयो । यस्तै विधागत पुरस्कारतर्फ पनि मोरङ दबदबा राख्न सफल भयो ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक मोरङका प्रमिजय गच्छदार, उत्कृष्ट डिफेन्डर मोरङकै मानबहादुर परियार, उत्कृष्ट मिडफिल्डर मोरङकै उमेश कार्की र उत्कृष्ट प्रशिक्षक मोरङकै राज लिम्बू घोषित हुनुभयो । यस्तै प्रतियोगिताको उदयमान खेलाडी आयोजक पाँचथर फुटवल क्लबका शुकराज राई घोषित हुनुभयो भने फाइनल खेलको उत्कृष्ट खेलाडी (म्यान अफ दी म्याच) झापाका प्रदीप बुढाथोकी घोषित हुनुभयो ।
नवस्थापित पाँचथर फुटवल क्लबले प्रतियोगिता आयोजना गरेको थियो । मङ्सिर १६ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ वटा फुटवल टोली सहभागी थिए । फिदिम माध्यमिक विद्यालयको निर्माणाधीन खेलमैदानमा बाँसको अस्थायी प्याराफिट निर्माण गरी प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष अनुराग मगरले वताउनुभयो । चार वर्षपछि फिदिममा फुटवल प्रतियोगिता आयोजना हुँदा आसपासको क्षेत्रबाट उल्लेख्य सङ्ख्यामा दर्शक सहभागी भएका थिए ।
प्रतिक्रिया