पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाँचथरमा एमालेका जनसंगठनहरुको पहिलो बैठक सम्पन्न

चिन्तन खबर

फिदिम । पाँचथरमा नेकपा (एमाले)का जनसंगठनहरुको पहिलो बैठक सम्पन्न भएको छ ।

एमालेका कूल २३ वटा जनसंगठनहरुमध्ये जिल्लामा क्रियाशील रहेका जनसंगठनका फाँट इन्चार्जहरु, जनसंगठनका अध्यक्षहरु, केन्द्रीय र प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा पहिलो बैठक सम्पन्न भएको हो । नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्र पाँचथरका संयोजक एवम् एमाले पाँचथर जिल्ला कमिटीका उपसचिव पृथ्वी लावतीको अध्यक्षतामा आयोजित बैठकमा जनसंगठनका अध्यक्ष र इन्चार्जहरुले जनसंगठनको अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।

एमाले पोलिटब्यूरो सदस्य तथा पाँचथर इन्चार्ज तिलकुमार मेन्याङ्बोको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा एमाले केन्द्रीय सदस्य, प्रतिनिधि सभा सदस्य, पूर्वमन्त्री वसन्तकुमार नेम्बाङ, केन्द्रीय सदस्य एवम् जनसंगठन कोशी प्रदेशका इन्चार्ज यज्ञराज सुनुवार, कोशी प्रदेश कमिटीका सचिव राजकुमार भण्डारी, अखिल नेपाल किसान महासंघका महासचिव बावुराम थापा, पूर्व सांसद् जयकुमार राई, एमाले पाँचथरका कार्यबाहक अध्यक्ष विष्णुप्रसाद सापकोटा लगायतले जनसंगठनको भूमिकाबारे प्रकाश पार्नुभएको थियो ।

एमाले पोलिटब्यूरो सदस्य, कोशी प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री तिलकुमार मेन्याङ्बोले जनसंगठनहरुले आफ्नो क्षेत्र, वर्ग र समुदायको हितका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । एमालेका जनसंगठनहरुले विगतदेखि नै आफ्नो विषयगत क्षेत्रमा उत्कृष्ट काम गर्दै आएको स्मरण गर्दै मेन्याङ्बोले यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

एमाले केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्बाङले जनसंगठनहरुले पार्टीको मुख ताकेर बस्नुपर्ने आवश्यकता नरहेको भन्दै सामाजिक रुपान्तरण, आर्थिक विकास र समृद्धिका लागि आ–आफ्नो क्षेत्रमा क्रियाशील हुन आग्रह गर्नुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्थालाई संस्थागत गर्न एमालेका जनसंगठनहरुले थप सचेत र जिम्मेवार हुनुपर्ने आवश्यकता देखिएको समेत उल्लेख गर्नुभयो ।

एमालेमा भातृ, जन वर्गीय, पेशागत र सामुदायिक संगठनहरु रहेका छन् । जिल्लामा नेपाल मुस्लिम इत्तेहाद संगठन र अखिल नेपाल पिछडावर्ग महासंघ बाहेक सबै जनसंगठन गठन गरी क्रियाशील गराउन लागिएको जनसंगठन समन्वय संयन्त्र पाँचथरका संयोजक लावतीले जानकारी दिनुभयो ।