पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आवाशीय विद्यार्थीसँग प्रजातन्त्र दिवस

चिन्तन खबर

फिदिम । जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु तथा जनप्रतिनिधिहरुले प्रजातन्त्र दिवस अभिभावकविहीन विद्यार्थीहरुका समस्या बुझेर मनाएका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा जिल्ला स्थित मूल समारोह समितिका पदाधिकारीसमेत रहेका जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरुले आवाशीय विद्यालयको अवस्था, विद्यार्थी तथा विद्यालयले भोग्नुपरेका समस्याको स्थलगत निरीक्षण गरेका हुन् ।

फिदिम नगरपालिका–४ सालघारीमा रहेको जागृति आधारभूत विद्यालयमा अध्ययनरत आवाशीय विद्यार्थीको बसोबास, खानपान, पठनपाठन लगायतको अवस्थाबारे जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरुले निरीक्षण गरी आवश्यक सहयोग गर्ने वचनवद्धता समेत ब्यक्त गरेका छन् ।

जिल्ला स्थित प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष जिल्ला समन्वय समितिका प्रमुख रामराज आङ्देम्बे, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्राती, चार वटै सुरक्षा निकायका प्रमुखहरु, अन्य जनप्रतिनिधि तथा कर्मचारीहरु प्रजातन्त्र दिवसको अवसर पारेर आज विहान उक्त विद्यालय पुग्नुभएको थियो ।

यस क्रममा उहाँहरुले आवाशीय विद्यार्थी तथा अन्य विद्यार्थीको पठनपाठनको ब्यवस्थाबारे विद्यालयबाट जानकारी लिई आगामी दिनमा उक्त आवाशीय ब्यवस्थालाई थप प्रभावकारी र ब्यवस्थित बनाउन मद्दत गर्ने वताउनुभयो ।

सो क्रममा विद्यालयका प्रधानाध्यापक डिल्लीराम लुइटेलले विद्यालयको अवस्थाबारे प्रकाश पार्नुभएको थियो । तत्कालीन जिल्ला शिक्षा कार्यालय पाँचथरको सहयोगमा २०७० सालदेखि आवाशीय ब्यवस्थाको सुरुआत गरेको विद्यालयमा अहिले ४३ जना बालबालिका बसोबास गरी पठनपाठन गर्दै आएका छन् ।

विदाको समयमा समेत सोही आवाशमै रहने ब्यवस्था विद्यालयले मिलाएको छ । फिदिम नगरपालिकासहित दातृ संघ संस्थाहरुको सहयोगमा विद्यालयले आवाशीय विद्यार्थीका लागि खाने, बस्नेसहित लत्ताकपडा लगायतको समेत प्रवन्ध गर्ने गरेको प्रअ लुइटेलले वताउनुभयो ।

पारीवारिक विग्रह, आर्थिक अवस्था लगायत विभिन्न कारण बेसहारा बन्न पुगेका बालबालिकालाई आवाशीय बसोबासको ब्यवस्था गरी विद्यालयले खाने, बस्ने, पठनपाठन गर्ने जस्ता अवसरको ब्यवस्था गरेको छ ।

“समस्यामा परेका सबै बालबालिका लिने हो भने अहिले १०० जनाभन्दा बढी हुन्थे यहाँ”, प्रअ लुइटेलले भन्नुभयो, “बालबालिकाको अवस्थाको प्राथमिकीकरण गरेर जटिलता र विद्यालयको क्षमताका आधारमा यहाँ राख्ने गरेका छौं ।”  विद्यालयले आगामी शैक्षिक सत्रमा आवाशीय विद्यार्थीको सङ्ख्या ५० पु¥याउने समेत लुइटेलले वताउनुभयो ।

विद्यालय सञ्चालनका लागि सहयोग गर्दै आएको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले असहाय र विपन्न बालबालिकाको शिक्षाको सुनिश्चितताका लागि नगरपालिकाले सकेसम्म बजेटको प्रवन्ध गर्दै आएको वताउनुभयो ।

उहाँले दातृ निकायहरुबाट थप सहयोगको अपेक्षा समेत गर्नुभयो । उक्त आवाशीय विद्यालयमा जिल्लामा आठमध्ये छ वटा स्थानीय तह घर भएका बालबालिका अध्ययनरत रहेकाले सबै स्थानीय तहले सहयोग गर्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख रामराज आङ्देम्बेको भनाई छ ।

यस विद्यालयमा आवाशीय विद्यार्थी सहित विपन्न तामाङ, माझी समुदायका गरी कूल ११६ जना विद्यार्थी अध्ययनरत छन् । सो विद्यालयको सेवा क्षेत्र सुक्खाले प्रभावित फिदिम नगरपालिकाको वडा नं. ४ र ९, कुम्मायक गाउँपालिका वडा नं. ४ तथा हिलिहाङ गाउँपालिका वडा नं. ७ रहेको छ ।

कार्यक्रममा जिल्ला आयुर्वेदक स्वास्थ्य केन्द्रका प्रमुख कविराज निरीक्षक टेकनाथ अर्यालले विरामी विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गर्नुभएको थियो भने पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख राजनराज रेड्डीले आवाशीय विद्यालयका लागि ब्यक्तिगत रुपमा रु. ५ हजार सहयोग प्रदान गर्नुभयो ।