पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फिदिममा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुँदै

चिन्तन खबर

फिदिम । पाँचथरमा भोलिबाट कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

जिल्ला खेलकुद विकास समिति पाँचथरको समन्वय र प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजनामा आयोजित प्रतियोगिता फागुन ११ गतेसम्म चल्नेछ । प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सहित खुल्ला भेट्रान्स प्रतियोगिता समेत आयोजना गरिएको आयोजकले जनाएका छन् । मंगलबार खेलकुद विकास समिति, पाँचथरले फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।

प्रतियोगिताका खेलहरु जिल्ला समन्वय समिति पाँचथरको कवर्ड हलमा सञ्चालन हुने छन् । प्रतियोगितामा पुरुष डबल, पुरुष सिङगल, महिला डबल, महिला सिंगल र मिक्स डबलका खेलहरुमा प्रतिस्पर्धा हुने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिनुभयो । प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका गरी ६८ जना खेलाडीहरुले सहभागिता जनाउने भएका छन् ।

प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको हरेक विधाका बिजेताले ट्रफि, मेडल सहित रु. २० हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै द्वितीय हुनेले रु. १० हजार र तृतीय हुनेले रु. ५ हजार पुरस्कार प्राप्त गर्ने छन् । खुल्ला भेट्रान्स प्रतियोगितातर्फ ४५ वर्ष माथि र दुई जना खेलाडीको उमेर जोड्दा १०० वर्ष माथि गरी दुई विधाको खेल हुने आयोजकले जनाएका छन् । खुल्ला भेट्रान्स प्रतियोगितातर्फका बिजेताले रु. ३० हजार र उपबिजेताले रु. १५ हजार पुरस्कार प्राप्त गर्ने छन् ।

आगामी फागुन २४ गतेदेखि बागमती प्रदेशको हेटौंडामा हुने अन्तरप्रदेश स्तरीय प्रतियोगिताका खेलाडी छनोट समेत यसै प्रतियोगिताबाट गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोक्तानले जानकारी दिनुभयो । प्रतियोगितालाई प्रतियोगिता सञ्चालन हुने स्थान फिदिम नगरपालिकाले समेत आर्थिक सहयोग गरेको छ । प्रतियोगितामा प्राबिधिक सहयोग जिल्ला ब्याटमिन्टन संघले गर्ने भएको छ । प्रतियोगिता सम्पन्न गर्न करीव रु. १८ लाख खर्च हुने आयोजकको अनुमान छ ।