पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोशी प्रदेशबाट ब्याडमिन्टनका छ खेलाडी छनौट, प्रदेशस्तरीय प्रतियाेगिता सम्पन्न

चिन्तन खबर

फिदिम । यही फागुन २४ गतेदेखि बागमती प्रदेशको हेटौंडामा हुने लागेको अन्तरप्रदेश ब्याडमिन्टन प्रतियोगिताका लागि कोशी प्रदेशबाट छ जना खेलाडी छनौट हुनुभएको छ । कोशी प्रदेशस्तरीय टिमका लागि महिला खेलाडीतर्फ तीन जना र पुरुष खेलाडीतर्फ तीन जना छनौट हुनुभएको हो ।

पाँचथरको फिदिममा आज सम्पन्न भएको कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताबाट उहाँहरु छनौट हुनुभएको हो । कोशी प्रदेश खेलकुद विकास बोर्डको आर्थिक सहयोगमा जिल्ला खेलकुद विकास समिति पाँचथरले आयोजना गरेको प्रतियोगिताबाट उहाँहरु छनौट हुनुभएको हो । प्रदेश स्तरीय टिमका लागि छनौट हुनुभएका महिला खेलाडीहरुमा मोरङका सीमा राजबंशी, झापाका अञ्जना राई र उदयपुरका रोजी राई रहनुभएको छ ।

यस्तै पुरुषतर्फ भोजपुरका विशाल तामाङ, ताप्लेजुङका मिलन गुरुङ र तेह्रथुमका विवेक कन्दङ्वा छनौट हुनुभएको प्रतियोगिताका लागि प्राविधिक सहयोग गरेको संस्था जिल्ला ब्याडमिन्टन संघका सचिव मंगलबहादुर बेघाले जानकारी दिनुभयो ।

फिदिममा आयोजित कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता समेत शुक्रबार सम्पन्न भएको छ । शुक्रवार सात विधामा फाइनल खेलहरु सम्पन्न भएपछि प्रतियोगिता सम्पन्न भएको आयोजक जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिनुभयो ।

फाइनल खेलको नतिजाअनुसार महिला एकलमा मोरङकी सीमा राजबंशी प्रथम हुनुभएको छ । राजबंशीले झापाकी अञ्जना राईलाई १७–२१, २१–१५, २१–१९ को सेटमा पारजीत गरी उपाधि उचाल्नुभएको हो । यस विधामा उदयपुरकी रोजी राई र पाँचथरकी छाँया केरुङ तृतीय हुनुभएको छ ।

यस्तै, पुरुष एकल विधाको उपाधि भोजपुरका बिशाल तामाङले हात पार्नुभएको छ । तामाङले फाइनल खेलमा ताप्लेजुङका मिलन गुरुङलाई २१–१२, २१–१३ को सोझो सेटमा पराजीत गरेर उपाधि उचाल्न सफल हुनुभएको हो । यस विधामा तेह्रथुमका बिवेक कन्दङ्वा र भोजपुरका बिवेक श्रेष्ठ तृतीय स्थान हाँसिल गर्न सफल हुनुभएको छ ।

पुरुष युगलको उपाधि तेह्रथुमका बिवेक कन्दङ्वा र नवीन सिलवालको जोडीले जितेको छ । कन्दङ्वा र सिलवालको जोडीले भोजपुरका बिवेक श्रेष्ठ र बिशाल तामाङको जोडीलाई २१–१६, १६–२१ र २१–१७ को सेटमा पराजीत गरेर उपाधि उचाल्नुभएको हो । यस विधामा खोटाङका ज्योतीहाङ लिम्बू र योदेश राईको जोडी तथा झापाका चाणक्य पाठक र उस्तव उप्रेतीको जोडीले तृतीय स्थान प्राप्त गर्नुभएको छ ।

महिला युगलको उपाधि खोटाङका रेनुका राई र स्मृता राईको जोडीले जित्नुभएको छ । उहाँहरुले सुनसरीका योगीता लिम्बू र सृष्टि राईको जोडीलाई २१–१७ र २१–१२ को सोझो सेटमा पराजीत गर्नुभएको हो । यस विधामा झापाका प्रभा काम्बाङ र अन्जना राईको जोडी तथा धनकुटाका रोमा सुवेदी र अरुना तामाङको जोडी तृतीय हुनुभएको छ ।

मिश्रित युगलको उपाधि मोरङका सीमा राजबंशी र सुप्रिम पन्तको जोडीले जित्नुभएको छ । राजबंशी र पन्तको जोडीले पाँचथरका दिवश शंकर र छाँया केरुङको जाडीलाई १७–२१, २१–१५ र २१–१९ को प्रतिस्पर्धात्मक सेटमा पराजीत गरी उपाधि उचाल्नुभएको हो । यस विधामा उदयपुरका रोजी राई र विनय चौधरीको जोडी तथा ताप्लेजुङका प्रेमराज लिम्बू र भावना केदेमको जोडीले तृतीय स्थान हाँसिल गर्नुभएको छ ।

यी पाँच वटै विधामा प्रथम हुनेले रु. २० हजार, द्वितीय हुनेले रु. १० हजार र तृतीय हुनेले रु. पाँच हजार रकम पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको आयोजक जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिनुभयो ।

भेट्रान्सतर्फ ४५ वर्ष माथि विधाको उपाधि पाँचथरका सन्तोष मोक्तान र अनिल थाम्सुहाङको जोडीले जित्नुभएको छ । उहाँहरुले फाइनल खेलमा पाँचथरका दीपक आङ्देम्बे र धनकुटाका शीखर श्रेष्ठको जोडीलाई २१–१६, १९–२१ र २१–१४ को पराजीत गर्नुभएको छ । यस विधामा इलामका याम लिम्बू र पुस्कर बुर्जामगरको जोडी तथा मोरङका उत्तम सिम्खडा र विष्णु तामाङको जोडी तृतीय हुनुभएको छ ।

भेट्रान्स तर्फकै १०० वर्ष माथि समूह (दुई खेलाडीको उमेर जोड्दा १०० भन्दा बढी) उपाधि झापाका प्रकाश राई र मोरङका उत्तम सिंखडाको जोडीले जित्नुभएको छ । उहाँहरुको जोडीले उदयपुरका सन्तोष कटुवाल र खोटाङका दीपक राईको जोडीलाई पराजीत गर्नुभएको हो । यस विधामा पाँचथरका रामराज आङदेम्बे र अनिल थाम्सुहाङको जोडी तथा झापा कृष्ण खड्का र तेह्रथुमका केशव सिलवालको जोडी तृतीय हुनुभएको छ ।

भेट्रान्सतर्फका दुवै विधामा प्रथम हुनेले रु. ३० हजार, द्वितीय हुनेले रु. १५ हजार र तृतीय हुनेले रु. ५ रकम सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नुभएको छ । जिल्ला समन्वय समितिको कवर्डहलमा आयोजित प्रतियोगितामा ६८ जना खेलाडीले भाग लिनुभएको थियो ।

प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेश र फिदिम नगरपालिकाको आर्थिक सहयोग, जिल्ला खेलकुद विकास समिति पाँचथरको आयोजना र ब्याडमिन्टन संघ पाँचथर र कोशी प्रदेश समितिको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगिताबाट पाँचथरकी छाँया केरुङ रु. पाँच हजार पुरस्कार सहित उदयमान खेलाडीका रुपमा पुरस्कृत हुनुभएको छ ।

प्रतियोगिताको समापन कार्यक्रमका अवसरमा ब्याडमिन्टन खेलका बरिष्ठ प्रशिक्षक उत्तम सिंखडा, अग्रज ब्याडमिन्टन खेलाडी खड्ग थापा मगर, ब्याडमिन्टनका पूर्व खेलाडीत्रय बल थापा, सकुन्तला नेम्बाङ र प्रदेश केसी सम्मानित  हुनुभएको छ ।