पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाँचथर गोल्डकपको उद्घाटन खेलमा आयोजक विजयी

चिन्तन खबर

फिदिम । पाँचथरको फिदिममा आजबाट सुरु भएको चौथो पाँचथर गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत आज भएको उद्घाटन खेलमा आयोजक पाँचथर क्लब विजयी भएको छ ।

उद्घाटन खेलमा नमो वुद्ध युवा फुटवल क्लब सप्तरीलाई ३–० गोलअन्तरले पराजीत गर्दै आयोजक सेमिफाइनलमा प्रवेश गरेको हो । आयोजक पाँचथर क्लबका लागि शुकराज राईले ह्याट्रिक गर्नुभयो ।

राईले खेलको आठौं मिनेटमै गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाउनु भयो । नमो वुद्ध सप्तरीका गोल रक्षक अघि बढेको अवस्थामा राईले खाली गोल पोष्टमा गोल गर्न सफल हुनुभयो ।

यस्तै ३३ औं मिनेटमा राईले नै दोश्रो गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर पार्नुभएको थियो । यस्तै ६१औं मिनेटमा जमिन लक्समको पासलाई गोलमा परिणत गर्दै राईले ह्याट्रिक पूरा गर्नुभयो ।

आजको खेलको उत्कृष्ट खेलाडी (म्यान अफ दी म्याच) समेत राई नै घोषित हुँदै रु. पाँच हजार पुरस्कार प्राप्त गर्नुभयो । सबै स्थानीय खेलाडी सम्मिलित आयोजक टोलीले आज निकै आकर्षक प्रदर्शन गरेको हो । घरेलू दर्शकहरूले समेत आयोजक टोलीलाई हुटिङ गरेर साथ दिएका थिए ।

पराजीत भएको नमो वुद्ध युवा फुटवल क्लब सप्तरीका प्रशिक्षक सुरेश लामाले आफ्नो टिममा अनुभवी र ए डिभिजन क्लबहरुमा खेलेका खेलाडीहरु रहेपनि खेलमैदानका कारण पराजय भोग्नु परेको वताउनुभयो । “११ साइजमा खेल्ने हाम्रा खेलाडीहरुले नौ साइजमा खेल्न नसक्दा पराजय भोग्नु प¥यो”, लामाले भन्नुभयो, “खेलमैदान नै हाम्रा लागि बाधक बन्यो ।”

आयोजक टोलीका प्रशिक्षक मिलन जबेगूले खेल रणनीतिमा सफल हुँदा आफ्नो टोली विजयी बनेको वताउनुभयो । प्रतियोगिताअन्तर्गत भोलि आइतबार झापा–११ फुटवल क्लब झापा र रेडहर्स फुटवल क्लब इलामवीच प्रतिस्पर्धा हुने आयोजक पाँचथर क्लबका सचिव योगराज सेढाईंले जानकारी दिनुभयो ।

फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताको विजेताले रु. पाँच लाख पाँच हजार र उपविजेताले रु. दुई लाख ५५ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा भारतको एक सहित आठ फुटवल टोली सहभागी छन् ।