फिदिम । पाँचथरको फिदिममा जारी चौथो पाँचथर गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत आज सम्पन्न समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताअन्तर्गत आज भएको खेलमा हिल्स फुटवल एकेडेमी भारतलाई १–० गोलअन्तरले पराजीत गर्दै आर्मी सेमिफाइनलमा पुगेको हो । आर्मीका लागि ४७औं मिनेटमा दिशान्त राईले गोल गर्नुभयो । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्न पाएका प्रशस्तै मौकाहरु गुमाउँदा राईको गोल नै निर्णायक बन्यो ।
खेलको अन्तिम समयमा आक्रामक खेल प्रदर्शन गरेको हिल्स एकेडेमी गोल गर्न भने चुक्दा प्रतियोगिताबाट बाहिरिन पुगेको छ । आजको खेलको उत्कृष्ट खेलाडी (म्यान अफ दी म्याच) गोलकर्ता आर्मीमा दिशान्त राई घोषित हुँदै रु. पाँच हजार पुरस्कार प्राप्त गर्नुभयो ।
आजको खेलमा आकर्षक ढङ्गले समर्थन जनाउने निकिता राई फ्यान अफ दी म्याच घोषित हुँदै रु. दुई हजार ५०० पुरस्कार प्राप्त गर्नुभयो । भाग्य चिठ्ठामार्फत प्रदान गरिने सुटआउट हिरोका लागि भने अवसर पाएका दर्शकले गोल गर्न सकेनन् ।
प्रतियोगिताअन्तर्गत भोलिबाट सेमिफाइनलका खेल हुँदैछन् । भोलि पहिलो सेमिफाइनलमा बागमती युथ फुटवल क्लब सर्लाही र आयोजक पाँचथर क्लबवीच प्रतिस्पर्धा हुने आयोजक पाँचथर क्लबका सचिव योगराज सेढाईंले जानकारी दिनुभयो ।
यस्तै विहीवार हुने दोश्रो सेमिफाइनलमा झापा–११ फुटवल क्लब र त्रिभुवन आर्मी क्लववीच प्रतिस्पर्धा हुनेछ । शनिवार प्रतियोगिताको फाइनल खेल हुनेछ । पाँचथर क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले रु. पाँच लाख पाँच हजार तथा उपविजेताले रु. दुई लाख ५५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया