फिदिम । आयोजक पाँचथर क्लब पाँचथरको फिदिममा जारी चौथो पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनलमा बागमती युवा फुटवल क्लब, सर्लाहीलाई १–० गोलअन्तरले पराजीत गर्दै आयोजक फाइनलमा प्रवेश गरेको हो ।
आयोजकका लागि रोशन आङ्देम्बेले निर्णायक गोल गर्नुभएको थियो । पहिलो हाफको अतिरिक्त समयमा पाएको कर्नरलाई हेडमार्फत गोल गर्दै आङ्देम्बेले आफ्नो टिमलाई अग्रता दिलाउनु भएको थियो ।
दोश्रो हाफमा बागमतीले खेलमा फर्कने प्रयास गरेपनि गोल गर्न असफल भयो । पहिलो हाफमा बागमतीले केही आक्रामक खेल प्रदर्शन गरेपनि पाएका मौकाहरुमा गोल गर्न सकेन ।
दोश्रो हाफमा थप लयमा फर्केको आयोजकले पनि गोल गर्न पाएका प्रशस्तै अवसरहरु खेर फालेको थियो । यद्यपि बागमतीले गोल फर्काउन नसक्दा आयोजक फाइनलमा पुगेको हो ।
आजको खेलको म्यान अफ दी म्याच आयोजक पाँचथर क्लबका गोलरक्षक मिराक खजुम घोषित हुँदै रु. पाँच हजार पुरस्कार प्राप्त गर्नुभयो । आजको खेलमा आकर्षक ढङ्गले आयोजक क्लबका पक्षमा समर्थन गर्ने लाखे समूह फिदिमले फ्यान अफ दी म्याचका रुपमा रु. दुई हजार पाँच सय पुरस्कार प्राप्त ग¥यो ।
यस्तै खेलको मध्यान्तरमा भाग्यचिठ्ठामार्फत खाली पोस्टमा गोल गर्दै फिदिमकै नवीन तुम्रोक सुटआउट हिरो बन्न सफल हुनुभयो ।
प्रतियोगिताअन्तर्गत भोलि दोश्रो सेमिफाइनलमा झापा–११ फुटवल क्लब झापा र त्रिभुवन आर्मी क्लबवीच फाइनल पुग्नका लागि प्रतिस्पर्धा हुने आयोजक पाँचथर क्लबका सचिव योगराज सेढाईंले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले रु. पाँच लाख पाँच हजार तथा उपविजेताले रु. दुई लाख ५५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया