फिदिम । त्रिभुवन आर्मी फुटवल क्लब पाँचथरको फिदिममा जारी चौथो पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आज फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न दोश्रो सेमिफाइनल खेलमा झापा–११ फुटवल क्लबलाई टाइब्रेकरमा ३–० गोलअन्तरले पराजीत गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टोलीबाट १–१ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
टाइब्रेकरमा आर्मीका तीन खेलाडीले गोल गर्दा झापाका कुनै पनि खेलाडीबाट गोल हुन सकेन । टाइब्रेकरमा आर्मीका सन्तोष केसी, दीपकुमार लामा र मानबहादुर आले मगरले गोल गर्नुभएको थियो । तर झापाका पेमा लामा र विशाल तामाङको प्रहार बाहिरिएको थियो भने रोजिन माझीको प्रहारलाई आर्मीका गोलरक्षक नवीन परियारले असफल पार्नुभएको थियो ।
यसअघि निर्धारित समयमा दुवै टोलीबाट १–१ गोल भएको थियो । खेलको ४३औं मिनेटमा आर्मीका लागि दीपकुमार लामाले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाउनुभएको थियो । तर ५९औं मिनेटमा डि–बक्स क्षेत्रमा आर्मीबाट गल्ती हुँदा रेफ्री श्याम दनुवारले झापालाई पेनाल्टी प्रहार गर्ने अवसर दिनुभएको थियो । पेनाल्टीबाट झापाका प्रदीप बुढाथोकीले गोल गर्दै खेललाई बराबरीमा ल्याउन सफल हुनुभएको थियो ।
निकै आक्रामक खेल प्रदर्शन गरेका दुवै टोलीले गोल गर्न पाएका मौकाहरु चुकाएका थिए । आजको खेलमा रेफ्री श्याम दनुवारले चार वटा पहेंलो कार्डको प्रयोग गर्नुभएको थियो ।
आजको खेलको उत्कृष्ट खेलाडी (म्यान अफ दी म्याच) आर्मीका दीपकुमार लामा घोषित हुँदै रु. पाँच हजार पुरस्कार प्राप्त गर्नुभयो । आजको खेलमा उत्कृष्ट ढङ्गले समर्थन जनाउने फिदिम नगरपालिका–७ का निश्चल बाँस्कोटा फ्यान अफ दी म्याच बन्न सफल भई रु. दुई हजार ५०० पुरस्कार प्राप्त गर्नुभयो ।
अब शनिवार हुने फाइनल खेलमा आयोजक पाँचथर क्लब र आजको विजेता आर्मीवीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले रु. पाँच लाख पाँच हजार तथा उपविजेताले रु. दुई लाख ५५ हजार पुरस्कार सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
यस्तै विधागत रुपमा खेलाडी तथा प्रशिक्षकले समेत पुरस्कार प्राप्त गर्ने आयोजक पाँचथर क्लबका अध्यक्ष निशान शिवाकोटीले जानकारी दिनुभयो । पाँचथर क्लबले आयोजना गरेको पाँचथर गोल्डकपको चौथो संस्करण फिदिम माध्यमिक विद्यालयको निर्माणाधीन खेलमैदानमा सञ्चालन भइरहेको छ ।
प्रतिक्रिया