काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४० वर्ष मुनिका युवा केन्द्रीय सदस्य छान्ने क्रममा ‘कन्फ्लीक्ट अफ इन्टरेष्ट’ देखिएको छ ।
राप्रपा उपाध्यक्ष ध्रुवबहादुर प्रधान संयोजक रहेको छनौट समितिले नवीन राप्रपा कार्ययोजना अन्तरगत विभिन्न सिमा राखेर छानेको २० केन्द्रीय सदस्यमा नेवार समूहको मात्र बाहुल्यता देखिएको छ । छनौट समितिका संयोजक नेवार समुदायकै हुनु र छानिएका केन्द्रीय सदस्यहरुमा नेवार बाहुल्य हुनु संयोग मात्र होइन, यो सरासर ‘कन्फ्लीक्ट अफ इन्टरेष्ट’ हो, राप्रपाको सुत्र बताउँछ ।
उपाध्यक्ष प्रधान आफ्नो समूदाय भनेपछि हुरुक्क हुने बानी पार्टीभित्र पहिलेबाट स्थापित भएको स्रोत बताउछ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले मंगलबार जारी गरेको विज्ञप्तिमा छनौटमा परेका २० केन्द्रीय सदस्यमध्ये नेवार बाहेक अरु कुनै जनजाति समूह समावेश छैन । राजेन्द्र लिङ्देन अध्यक्ष रहेको पार्टीमा लिम्बु, राई, गुरुङ, मगर, थारु, राजवंशी, शेर्पा, लेप्चा, ह्योल्मो आदि कोही पनि नछानिनु आश्चर्यको विषय बनेको छ ।
महिलातर्फ बिना लामा छानिएको भए पनि उनी इसाई धर्मकी अनुयायी हुन् । उनी समानुपातिक सांसद बन्दा क्रिस्चीयनलाई सांसद बनाएको भनेर अध्यक्ष लिङ्देन माथि सार्वजनिक तहमा ठूलो आलोचना भएको थियो । अहिले पनि उनी नै लिङ्देनको रोजाइमा परेकी छिन् । लिङ्देनले पटक पटक क्रिस्चीयन महिलालाई नै किन अवसर दिन्छन् भन्ने विषयले राप्रपाभित्र असहजता सिर्जना गरिदिएको बताइन्छ ।
छनौट समितिले मधेसका युवालाई पनि बहिष्करणमा पारेको छ जसकारण अन्यायको विरुद्ध अन्तरवार्ताका कागजात तथा अंकहरु सबै सार्वजनिक र पारदर्शी हुनुपर्छ भन्ने माग गर्न मधेसका युवाहरुको डेलिगेसन पार्टी अध्यक्षलाई भेट्ने तयारीमा रहेको बुझिएको छ । राम्रोभन्दा आफ्नोलाई छनौट गरेको, छनौट प्रक्रियामा व्यापक चलखेल भएको, मायाप्रेम र प्रभाव दवाब भएकोमा आपत्ति देशव्यापी छ ।
राप्रपाले ४० वर्ष मुनिका २० जनालाई केन्द्रीय सदस्य छनौट गरेको जानकारी मंगलबार सार्वजनिक गरेको हो । विज्ञप्तिमा राप्रपाले ती युवाहरु केन्द्रीय सदस्य मनोनित भएको किटानी गरेको छैन । छनौट समितिले छनौट गरेको मात्र भनेको छ ।
यसबाट छनौटमा परेका ४० वर्ष मुनिका युवाहरुलाई केन्द्रीय कार्य समितिले केन्द्रीय सदस्य मनोनित गर्ने प्रक्रिया बाँकि रहेको भन्ने देखिन्छ । राप्रपाको विधानमा केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित हुने वा केन्द्रीय कार्य समितिबाट मनोनित हुने व्यवस्था छ । छनौट समितिले छनौट गर्ने व्यवस्था राप्रपाको विधानमा छैन ।
प्रतिक्रिया