पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कानुन विपरित कर्मचारी नियुक्ति गर्दै, हटाउँदै कुम्मायक गाउँपालिका


पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले कानुन विपरित कर्मचारी नियुक्ति गरी हटाएको छ । कोशी प्रदेश सरकारले बनाएको स्थानीय सरकारी सेवाको गठन सञ्चालन र सेवाका सर्तहरु व्यवस्था गर्न बनेको ऐन २०८० को व्यवस्था विपरित कर्मचारी नियुक्ति गरी हटाएको हो । प्रदेश सरकारले २०८० पुष २२ गते जारी गरेको व्यवस्था अनुसार गाउँपालिकाले कुनै पनि कर्मचारी करारमा नियुक्त गर्न पाउने छैन भनि उल्लेख गरेको छ । “ऐन विपरित करारमा कर्मचारी नियुक्ति पाएको व्यक्तिले पाएको तलब, भत्ता र अन्य सुविधा बापतको रकम नियुक्ति गर्ने कर्मचारी वा पदाधिकारीबाट असुलउपर गर्ने उल्लेख छ ।”

तर गाउँपालिकाले प्रदेश सरकारको ऐन विपरित केही महिना अघि मात्रै नियुक्ति गरेका कुम्मायक आधारभूत अस्पतालका कर्मचारी सहित १८ कर्मचारी हटाएको छ । कानुन विपरित नियुक्ति गरेको चौथो, पाँचौ र आठौ तहका दक्ष कर्मचारीहरु एकै पटक हटाएपछि गाउँपालिकाको सेवा प्रवाहमा समेत समस्या देखिन थालेको छ ।

गाउँपालिकाले कुम्मायक–१ को खाल्डे स्वास्थ्य ईकाइमा रहेका ३ जना कर्मचारी मध्ये २ जनाको करार भंग गरेर एक जना कार्यालय सहयोगी मात्र राखेको छ । प्रदेको ऐन जारी भइसकेपछि पनि गाउँपालिकाले कुम्मायक आधारभुत अस्पताल सञ्चालन गर्न कानुन विपरित कर्मचारी नियुक्ति गरी तलब भत्ता खुवाएको थियो । तत्कालिन समयका प्रदेका स्वास्थ्य मन्त्री राजेन्द्र कार्कीको उपस्थितिमा तामझामका साथ निर्माणाधिन कुम्मायक आधारभुत अस्पतालको उद्घघाटन गरेको गाउँपालिकाले अस्पतालका लागि आठौं तहका डाक्टर लगायत ३ जना कर्मचारीको नियुक्ति गरेको थियो । नियुक्ति गरेका तीन कर्मचारी सहित १८ जना कर्मचारीको करार भङ्ग गाउँपालिकाले गरेको छ । गाउँपालिकाले असोजदेखि सबै कर्मचारीको करार सेवा भङ्ग गरेको सूचना मार्फत जानकारी गराएको छ ।
 

सबै भन्दा ठुलो असर स्वास्थ्य क्षेत्रमा

गाउँपालिकाले नागरिकलाई घर आगनमै आधारभूत स्वास्थ्यको पहुँचलाई पु¥याउन अधुरो १५ शैयाको अस्पताललाई उद्धघाटन गरी कुम्मायक आधारभूत संचालनमा ल्याएको थियो । गाउँपालिकाले आधारभूत अस्पतालमा आठौं तहका डाक्टर उपेन्द्र पोख्रेल, रेडियोग्राफर स्मृति अधिकारी र फर्मासिष्ट अरुणल चेम्जोङ पाँचौ तहका कर्मचारी नियुक्ति गरेको थियो । प्रदेशको कानुन अध्यायन नगरी नियुक्ति गरेका तीनै जना स्वास्थ्यकर्मीको करार सेवा भंग गरेपछि आधारभूत अस्पतालको भबिष्य अन्योलमा परेको छ । यो संगै गाउँपालिकाको स्वास्थ्य चौकी र स्वास्थ्य इकाई गरी ११ जना स्वास्थ्यकर्मीको करार सेवा भंग भएको हो ।