काठमाडौं । नेकपा(माओवादी केन्द्र) ले नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार दीर्घकालीन नहुने निष्कर्ष निकालेको छ।
आज बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धनभित्रकै अन्तर्विरोधले सरकार अस्थिरतातर्फ उन्मुख भएको भन्दै उक्त निष्कर्ष प्रस्तुत गरेका हुन्।
बैठकमा सहभागी एक सांसदका अनुसार अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको थाइल्याण्ड भ्रमणपछि औपचारिक राजनीतिक छलफल सुरु हुने जानकारी दिनुभएको हो।
प्रचण्डले सरकारमा जानेभन्दा पनि कांग्रेस नेतृत्वको सरकारलाई बाहिरबाट समर्थन गर्ने रणनीतिमा माओवादी केन्द्र केन्द्रित रहेको स्पष्ट पार्नुभएको थियो।
“हामीले सरकारबाहिर बसेर समर्थन गर्ने कुरामा जोड दिएका छौँ,” ती नेता भन्नुभयो, “तर, उहाँहरूले सरकारमै सामेल हुनुपर्ने प्रारम्भिक संकेत गरेका छन्। सरकार सत्तारुढ दलहरूकै अन्तर्विरोधबाट ढल्ने अवस्था देखिन्छ। हामीले ढाल्न खोजेको होइन।”
उनका अनुसार कांग्रेस र एमालेबीचको स्वार्थको टकरावले राजनीतिक अस्थिरता चुलिँदै गएको छ। गभर्नर नियुक्ति जस्ता महत्त्वपूर्ण विषयहरूमा समेत सहमति नजुटेको र आगामी बजेटसम्म पुग्दा परिस्थिति ‘क्लाइमेक्स’ मा पुग्ने संकेत गरिएको छ।
अध्यक्ष प्रचण्डले शिक्षा विधेयकलगायतका विषयमा प्रतिपक्ष दलहरूसँग प्रारम्भिक छलफलपछि कांग्रेससँग समझदारी बनाएर अघि बढ्ने संकेत दिएका छन्।
बैठकमा सहभागी नेताहरूका अनुसार यदि ओली नेतृत्वको सरकार लम्बियो भने लोकतन्त्रविरोधी र स्वेच्छाचारी प्रवृत्ति बढ्न सक्ने चिन्ता प्रचण्डले व्यक्त गरेका थिए। उनले प्रधानमन्त्री ओलीले संविधान नै मिच्ने तहमा पुग्नसक्ने चेतावनीसमेत दिएको बताएका छन्।
प्रतिक्रिया