पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाँचथरबाट प्रचण्डको कडा टिप्पणीः ‘कुकर्मको बोझले सरकार आफैं ढल्नेछ, हामी खेलमा छैनौं’

‘आगामी चुनाव कुनै पार्टीको सहारामा नलड्ने’

विपुल अधिकारी

फिदिम । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार आफैंभित्रको किचलोका कारण ढल्ने दाबी गर्नुभएको छ । पाँचथर सदरमुकाम फिदिममा माओवादी केन्द्रले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँले सरकारलाई ‘रुझेको बिरालो’ सरह कमजोर अवस्था रहेको टिप्पणी गर्नुभयो।

“हामी सरकार ढाल्ने खेलमा लागेका छैनौं,” प्रचण्डले भन्नुभयो, “यो सरकार आफ्नै किचलोले ढल्छ। राजनीतिक होइन, बिचौलियाले बनाएको सरकार आफैंभित्रै समस्याग्रस्त छ। जनतासँग टुटेको सम्बन्ध सुधारमा हामी लागिरहेका छौं। उपनिर्वाचन र स्ववियु निर्वाचनबाट हामी उत्साहित छौं।”

प्रचण्डले आगामी चुनाव कुनै पार्टीको सहारामा नलड्ने बताउनुभयो। उहाँले माओवादी कार्यकर्तालाई एक्लै चुनाव लड्न तयार रहन निर्देशन दिनुभयो।

हुलाकी राजमार्ग केन्द्रित अभियान सकिएपछि अब मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान अगाडि बढाइने जानकारी पनि उहाँले दिनुभयो।

“कहिले काँग्रेस, कहिले एमालेलाई ठुलो बनाउने भूमिका निभायौं, तर उनीहरूले हामीलाई सानो बनाउन खोजे,” प्रचण्डले भन्नुभयो, “हामी २०६४ सालझैं फेरि जनताको साथ पाउनेछौं।”

झन्डै दुईतिहाइको समर्थन भए पनि वर्तमान सरकार डराइरहेको उहाँको भनाइ थियो। “सरकारले राम्रो गर्न चाहेको थिएन, नराम्रो गर्न केही बाँकी राखेको छैन,” उहाँले भन्नुभयो, “कुकर्मको बोझले सरकार आफैं ढल्नेछ।”

कोशी प्रदेशको नाम पुनः नामकरणका लागि पनि आफूले पहल गर्ने बताउनुभयो। “पहिले संसद्मा संख्या कम भएका कारण नामाकरण भयो। अब जनमत जुटाएर फेरि नाम परिवर्तन गर्छौं,” प्रचण्डले भन्नुभयो, “यो जिल्लाको सांसदलाई प्रदेश सरकारको नेतृत्व दिलाउने मेरो प्रयास हुनेछ। विगतमा केही प्राविधिक कारणले मुख्यमन्त्री बनाउन सकिएन।” उहाँको संकेत प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर आङ्बोतर्फ थियो।

भ्रष्टाचारविरुद्ध अभियान चलाएकाले बिचौलियाहरू कांग्रेस–एमालेको गठबन्धनतर्फ लागेकाले यस्तो अवस्था आएको पनि उहाँको टिप्पणी थियो। देशव्यापी रूपमा भ्रष्टाचारविरोधी माहोल बनाउने दाबी पनि उहाँले गर्नुभयो।

सभामा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल, केन्द्रीय सदस्य एवं प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर आङ्बो ‘मौसम’ र प्रदेश अध्यक्ष हर्क नेम्बाङ ‘मिक्सो’ले पनि सम्बोधन गर्नुभयो।

पाँचथरका विभिन्न स्थानबाट नेता तथा कार्यकर्ता फिदिममा आयोजित सभामा सहभागी हुन आउनुभएको थियो ।