पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वाइसिएल कोशीमा विक्रम शंकरको सशक्त दाबी, आशालाग्दो संगठन बनाउने प्रतिबद्धता !

‘वेथिति, विसंगति र भ्रष्टाचारको अन्त्यका लागि सक्रियरूपमा लाग्छु’

चिन्तन खबर

इटहरी। जनयुद्धको आँधीबेहरीबाट राजनीतिक यात्रा थालेका पाँचथरका विक्रम शंकर हाल कोशी प्रदेशमा योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल नेपाल) को अध्यक्षका लागि सशक्त दाबी प्रस्तुत गर्दै हुनुहुन्छ।

इटहरीमा आजदेखि सुरु भएको वाइसिएल कोशी प्रदेशको प्रथम अधिवेशनमा उहाँले नेतृत्वका लागि आफुलाई योग्य उम्मेदवार ठहर गर्दै आफ्नो दाबी प्रस्तुत गर्नुभएको हो।

शंकरको राजनीतिक यात्रा २०५८ सालमा सुरु भएको हो । त्यस वर्ष पार्टी सम्पर्कमा रहँदै उहाँले राजनीतिक गतिविधिमा संलग्नता जनाउनुभएको थियो। २०५९ सालदेखि पूर्णकालीन कार्यकर्ता बनेर तत्कालीन पाँचथर जिल्ला ५ नम्बर एरियाको ‘स्वार्ड’ मा जनमिलिसिया सदस्यका रूपमा सक्रिय हुनुभएको थियो।

त्यसयता उहाँले लगातार पार्टी र जनयुद्धसँगको सम्बन्ध मजबुत पार्दै संगठनभित्र विभिन्न जिम्मेवारी बहन गर्दै आउनुभएको छ। २०६४ सालमा वाइसिएल पाँचथर जिल्ला सदस्य बनेका शंकर २०७४ मा जिल्ला अध्यक्षको जिम्मेवारीमा पुग्नुभएको थियो।

२०७६ सालको फागुन १९ गते माओवादी केन्द्र र एमालेबीच पार्टी एकता भएपछि गठन भएको तत्कालीन नेकपाको राष्ट्रिय युवा संघमा उहाँले जिल्ला संयोजकको भूमिका निर्वाह गर्नुभएको थियो।

पुनः २०७७ मा वाइसीएल पाँचथरका जिल्ला संयोजक बन्नुभएका शंकर २०७८ मा जिल्ला इञ्चार्जको जिम्मेवारीमा पुग्नुभयो। संगठनप्रतिको समर्पणको आधारमा २०७९ साल भदौमा उहाँलाई वाइसीएल केन्द्रीय सदस्य तथा कोशी प्रदेश सह–संयोजकको जिम्मेवारी दिइएको हो।

उहाँले कोशी प्रदेशका युवा तथा समग्र वामपन्थी आन्दोलनमा एक सशक्त र भरपर्दो नेताका रूपमा उल्लेख्य भूमिका निर्वाह गर्दै आउनुभएको छ। संगठन, आन्दोलन र नेतृत्वमा देखिएको उहाँको सक्रियता हेर्दा आगामी दिनमा कोशी प्रदेशमा उहाँको प्रभाव अझ सशक्त हुँदै जाने संकेत देखिन्छ।

वाइसिएलमा प्रभावशाली युवा नेताको रूपमा स्थापित शंकरले आफैं नेतृत्वमा आए समग्र प्रदेशको विकास र युवाको सशक्तिकरणमा आफूले विशेष योगदान दिने बताउनुभएको छ।

शंकरले भन्नुभयो, “मैले नेतृत्व सम्हालेपछि सिङ्गो युवा आन्दोलनलाई व्यवस्थित गर्दै वेथिति, विसंगति र भ्रष्टाचारको अन्त्यका लागि सक्रियरूपमा लाग्ने प्रतिबद्धता गर्दछु। आफ्ना युवा सर्कललाई समाजवादको यात्रामा लामबद्ध गराउँदै, आत्मनिर्भर व्यवसायीको रूपमा विकसित गर्दै वैदेशिक रोजगारीको विकल्प देशमै सिर्जना गर्नु आजको आवश्यकता हो। नेपाली युवालाई यही देशमै टिकाउने वातावरण नबनाउँदासम्म भ्रम र निराशा फैलिरहन्छ। त्यसैले, वैकल्पिक आशा र सम्भावनाको आधार बनेर वाइसिएल नेपाललाई सबैको आशालाग्दो संगठन बनाई बाँकी रहेको क्रान्तिलाई सम्पन्न गर्नु मेरो प्रतिबद्धता हो।”

उहाँ भन्नुहुन्छ, “संगठनमा अन्य कमरेडहरु पनि आकांक्षि हुनुहुन्छ । यदि आफुले नेतृत्व पाएको खण्डमा उहाँहरुको सल्लाह र साथसहित अगाडि बढ्ने संकल्पसमेत गर्दछु ।”