पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फिदिममा निःशुल्क स्तन र पाठेघर क्यान्सर परीक्षण शिविर, दुई हजार महिलाले सेवा लिने अपेक्षा

‘शिविर सञ्चालनमा दीर्घकालदेखि क्यान्सरसँग लडिरहेका पत्रकार कबिन्द्र शेर्माको योगदान’

चिन्तन खबर

फिदिम । पाँचथरको फिदिमस्थित जिल्ला अस्पतालमा महिलाहरूका लागि लक्षित निःशुल्क स्तन तथा पाठेघर क्यान्सर परीक्षण शिविर सुरु गरिएको छ। फिदिम नगरपालिकाको आयोजनामा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको यो दुईदिने शिविर शुक्रबार (जेठ ९ गते) बिहान ८ बजेदेखि सुरु भएको हो।

फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपानेका अनुसार शिविर जेठ ९ र १० गते सञ्चालन हुनेछ। नगरप्रमुख मित्रप्रसाद काफ्लेले शिविर ग्रामीण क्षेत्रका महिलाहरूका लागि अत्यन्त उपयोगी हुने बताउँदै, यसअघि पनि नगरपालिकाले विभिन्न रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।

काफ्लेका अनुसार जिल्लाभरिबाट दुई हजारभन्दा बढी महिलाले शिविरमा स्वास्थ्य परीक्षण गराउने अपेक्षा गरिएको छ। भक्तपुर क्यान्सर अस्पतालका निमित्त निर्देशक डा. उज्ज्वल चालिसेको नेतृत्वमा १८ सदस्यीय क्यान्सर विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरिरहेको छ।

डा. चालिसेले शिविरमा आएका सबै सेवाग्राहीलाई निःशुल्क सेवा दिइने बताउनुभयो। क्यान्सर देखिएका बिरामीलाई औषधि र उपचार पनि निःशुल्क प्रदान गरिनेछ भने अन्यलाई सामान्य स्वास्थ्य परीक्षण गरिनेछ।

नगरप्रमुख काफ्लेले यस महत्त्वपूर्ण शिविर सञ्चालनमा दीर्घकालदेखि क्यान्सरसँग लडिरहेका पत्रकार कबिन्द्र शेर्माको योगदान विशेष रहेको उल्लेख गर्नुभयो। घाटीमा क्यान्सर देखिएपछि उपचार गराइरहेका शेर्मालाई हाल हड्डीमा समेत क्यान्सर देखिएको छ।

पत्रकार शेर्माले भने, “म जस्तै अरू कोही क्यान्सरबाट नतड्पिउन भन्ने उद्देश्यले समयमा नै परीक्षणको महत्त्व बुझाउन यो पहल गरिएको हो। समयमै परीक्षण गरियो भने क्यान्सरबाट बच्न सकिन्छ।”

शुक्रबार बिहान आयोजित विशेष समारोहमा फिदिम नगरप्रमुख मित्रप्रसाद काफ्लेले शिविरको औपचारिक उद्घाटन गर्नुभएको थियो।

तस्बिरः फालेलुङ न्यूजबाट