काठमाडौं । पछिल्लो एक साताको अवधिमा नेपालमा कोरोना भाइरस संक्रमणका सातवटा नयाँ केसहरू पुष्टि भएका छन्। चीन र भारतमा देखिएको कोरोना नै नेपालमा फैलिएको हो कि होइन, वा नयाँ भेरियन्ट हो भन्नेबारेमा हालसम्म सरकारको तर्फबाट स्पष्ट जानकारी आएको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार नयाँ भेरियन्टको सम्भावनाबारे छलफल गरेको छ। मन्त्रालयले सीमा नाका र हवाई मार्गहरूमा हेल्थ डेस्क स्थापना गरी परीक्षण प्रक्रिया अघि बढाएको जनाएको छ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार, “हामीले नाकामा किटसहितको व्यवस्था गरेर चेकजाँच थाल्न निर्देशन दिइसकेका छौँ।”
पुष्टि भएका संक्रमितमध्ये अधिकांश काभ्रेपलाञ्चोक जिल्लाबाट देखिएका छन्। धुलिखेलमा गरिएको परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो। ती सबै संक्रमितलाई हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ल्याइएको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बूढाथोकीले भन्नुभयो, “काभ्रेमा देखिएपछि सबै संक्रमितलाई टेकुमा ल्याएका छौँ। अहिलेसम्मको परीक्षण अनुसार नयाँ भेरियन्ट भने देखिएको छैन भन्ने लागेको छ। तर, थप परीक्षणपछि मात्रै यकिन गर्न सकिनेछ।”
प्रवक्ताका अनुसार, यसअघि पनि छिटपुट संक्रमण देखिँदै आएको थियो, तर यो पटक एउटै स्थानबाट सात जना संक्रमित भेटिएको हुँदा सतर्कता बढाइएको हो।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले यस विषयमा मन्त्रालयलाई आवश्यक निर्देशन दिइसकेको मन्त्रीको सचिवालयले जानकारी दिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी सन्तोष सुवेदीका अनुसार पछिल्लो २४ घण्टामा पनि एक जनामा संक्रमण पुष्टि भएको छ। तर, यो नियमित परीक्षण प्रक्रियाको अंश भएको उहाँले बताउनुभयो । “यो डराउनुपर्ने स्थिति होइन। भारतमा संक्रमण देखिएपछि सतर्कता अपनाउनु स्वाभाविक हो, तर नयाँ भेरियन्ट भनेर पुष्टि भइसकेको छैन,” सुवेदीले भन्नुभयो ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले पनि भारतमा देखिएको भेरियन्ट संक्रामक भए पनि अत्यन्त घातक भने नभएको स्पष्ट पारेका छन्।
उहाँले, “भारतमा म्युटेसन भएर फरक प्रकारको भेरियन्ट देखिएको हो। नेपालमा देखिए पनि अहिलेको अवस्थामा डराउनु पर्ने अवस्था छैन। तर, सजगता भने अत्यावश्यक छ।”
प्रतिक्रिया