पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हिलिहाङ गाउँपालिकामा IEMIS अभिमुखिकरण सम्पन्न, ४९ विद्यालयका शिक्षक सहभागी


फिदिम । पाँचथरको हिलिहाङ गाउँपालिकामा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली IEMIS  सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सोमबारदेखि सुरु भएको दुई दिने तालिम मंगलबार सम्पन्न भएको हो।

हिलिहाङ गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिका भित्रका ४४ सामुदायिक तथा ५ संस्थागत विद्यालयका सूचना तथा प्रविधि सम्हाल्ने शिक्षक र प्रधानाध्यापकहरूको सहभागिता रहेको प्राविधिक सहायक राजन आचार्यले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्रका विद्यालयहरूमा विद्यमान समस्या समाधान गर्ने र शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको शिक्षा शाखाका प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव तिमिल्सिनाले बताउनुभयो ।

उहाँले समापन सत्रमा बोल्दै शिक्षा क्षेत्रमा यथार्थ तथ्यांकको संकलन, प्रशोधन र विश्लेषण गरी नीतिगत सुधार ल्याउन IEMIS प्रणालीको प्रभावकारी उपयोग आवश्यक रहेको बताउनुभयो । साथै, सूचना प्रविधिमार्फत शैक्षिक विवरणको व्यवस्थित संकलन र व्यवस्थापन गरी विद्यालयले आफूलाई उत्तरदायी र पारदर्शी बनाउनुपर्नेमा पनि उनले जोड दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष समर बहादुर अधिकारीले गाउँपालिकाको शिक्षा क्षेत्र सुधारमा आफु प्रतिवद्ध रहेको उल्लेख गर्दै शिक्षकहरूलाई पनि सुधार प्रक्रियामा सहकार्य गर्न आग्रह गर्नुभयो । उहाँले यो वर्षभित्र स्थानीय पाठ्यक्रम निर्माण गरिने जानकारीसमेत दिए।

कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख तिमिल्सिनाले गर्नुभएको थियो