पाँचथर। पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमीस्थित सौर्य ऊर्जा मिनि ग्रिड विद्युत कार्यालयमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ।
बुधबार साँझ करिब ७ बजे सो कार्यालयमा कार्यरत ४१ वर्षीय झलेन्द्र भन्ने चन्द्र मगर विद्युत पंखाको ट्रान्समिटर मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेको इलाका प्रहरी कार्यालय रवीले जनाएको छ। करेन्ट लागेपछि उनी घटनास्थलमै झुण्डिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
घटनाबारे मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सन्तकुमार सेर्माले राति ८:३० बजे इलाका प्रहरी कार्यालय रवीलाई जानकारी दिनुभएको थियो । जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक ढुन्डीराज गिरीको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। घटनास्थल रवी प्रहरी चौकीबाट करिब ७ किलोमिटर उत्तर–पूर्वमा पर्दछ।
प्रहरी टोलीले राति ११:१० बजे कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमको लागि रवी आधारभूत अस्पताल पठाएको थियो। मृतकको शव अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।
विद्युत मर्मत जस्तो जोखिमयुक्त कार्यमा सुरक्षा सावधानी नअपनाउँदा यस्तो दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया