पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हेवाँमा बेलिब्रिज भाँचीएको घटनाः कसैको मृत्यू नभएको प्रहरीको पुष्टि, एक जनाको अवस्था चिन्ताजनक

चिन्तन खबर

पाँचथर । मेचिराजमार्ग अन्तर्गत पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोलामा निर्माणाधीन बेलिब्रिज अचानक भाँचिँदा ६ जना कामदार घाइते भएका छन्। यस अघि स्थानियले एक जनाको मृत्यु भएको बताए पनि प्रहरीले कसैको पनि मृत्यु नभएको जानकारी दिएको हो ।

शनिबार साँझ करिब ६ः२० बजे पुल भाँचिएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रनाउ कौशल कुमार बुढाथोकीको नेतृत्वमा ३५ जना प्रहरी परिचालन गरी उद्दार गरिएको थियो।

घाइते कामदारहरूलाई तत्काल उद्धार गरी फिदिमस्थित जिल्ला अस्पताल पाँचथरमा उपचारका लागि लगिएको र हाल उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइते हुनेहरूमा बारा सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी, २२ वर्षीय राकेश चौधरी, २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरी रहेका छन्।

प्राप्त जानकारी अनुसार रूपलाल, राजन, राकेश र भुलेश्वर चौधरीको अवस्था गम्भीर रहेको र उनीहरू बोल्न नसक्ने अवस्थामा छन्। त्यस्तै भुलेश्वरको दायाँ खुट्टा भाँचिएको छ भने अन्य तीनजनालाई बाहिरी चोट नदेखिए पनि अवस्था चिन्ताजनक छ। प्रकाश चौधरीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । अभिषेक चौधरीको टाउकोमा चोट लागेका कारण अवस्था पनि मध्यम रहेको प्रहरीे जनाएको छ ।