भक्तपुर । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको एक टोलीले शुक्रबार भक्तपुर क्यान्सर अस्पतालको स्थलगत भ्रमण तथा अवलोकन गरेको छ।
समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा गएको टोलीले अस्पतालमा प्रदान गरिँदै आएका सेवा प्रवाह, भौतिक पूर्वाधार, उपचारमा प्रयोग भइरहेका उपकरणहरू तथा अस्पतालका आगामी योजनाका विषयमा जानकारी लिएको हो।
भ्रमण टोलीमा समितिका सदस्यहरू डा. तोसिमा कार्की र देवेन्द्र पौडेल सहभागी हुनुहुन्थ्यो।
अस्पताल भ्रमणका क्रममा कार्यकारी निर्देशक डा. उज्वल चालिसेले अस्पतालका सम्पूर्ण गतिविधि, उपलब्ध सेवाहरू, तथा वर्तमान अवस्थामा देखिएका चुनौतीहरूबारे समिति सदस्यहरूलाई जानकारी गराउनुभएको थियो।
डा. चालिसेले भन्नुभयो, “हालसम्मको सेवा प्रवाह र अस्पतालको समग्र अवस्थाबारे जानकारी गरायौं, छलफल र भेटघाट निकै उपलब्धिमूलक रह्यो।”
अस्पतालले देशका विभिन्न स्थानहरूमा हालै सञ्चालन गरेका क्यान्सर शिविरहरूबारे पनि टोलीलाई जानकारी दिइएको थियो। सो कार्यप्रति समितिले प्रशंसा व्यक्त गरेको डा. चालिसेले जानकारी दिनुभयो।
भक्तपुर क्यान्सर अस्पतालले आगामी दिनहरूमा रेडियोथेरापी, कीमोथेरापी, प्यालिएटिभ केयर तथा बालक्यान्सर सेवाहरूलाई प्रविधिमैत्री बनाउँदै विस्तार गर्ने योजना बनाएको छ। तर, दक्ष जनशक्ति, पर्याप्त बजेट, भौतिक पूर्वाधारको अभाव र सरकारी प्राथमिकताको कमीका कारण केही योजना कार्यान्वयनमा ढिलाइ भइरहेको कुरा समितिलाई जानकारी गराइएको छ।
समितिले अस्पतालको प्रभावकारी सेवा विकासका लागि नीतिगत तहमा सहयोग पुर्याउने प्रतिबद्धता जनाएको छ। साथै, आगामी दिनमा अझ सहकार्य र समर्थन गर्दै जाने विश्वास पनि व्यक्त गरेको छ।
प्रतिक्रिया