पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फिदिममा श्रीमतीमाथि चक्कु प्रहार

चिन्तन खबर

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–२ स्थित नयाँबसपार्कमा घरेलु विवादका क्रममा एक पुरुषले आफ्नै श्रीमतीमाथि चक्कु प्रहार गरेका छन्।

फिदिम–११ लुङरुपाका २८ वर्षीय सुर्य सेरेङले हाल डेरा गरी बस्दै आएका घरमा आफ्नी २३ वर्षीया श्रीमती बिपना क्षेत्री कट्वालमाथि तरकारी काट्ने चक्कुले टाउको, गाला, घाँटी र छातीमा आक्रमण गरेका हुन्।

स्थानीय पर्शुराम अर्यालको घरमा डेरा बस्दै आएका उनीहरूले आज दिउँसो घरायसी विवादका क्रममा घटनामा उत्रिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाबारे खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट नयाँबसपार्कबाट प्रहरी योगेश दाहालको कमाण्डमा टोली खटिई घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल पाँचथर पुर्‍याइएको छ।

हाल पीडितको अवस्था बोल्न सक्ने मध्यम रहेको बताइएको छ। चक्कु प्रहार गरेका सुर्य सेरेङलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाँचथर बुझाएको छ।