पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कविलाले–पिपलबोटे सडक, गुणस्तरमाथी प्रश्न, ६० लाख फ्रिज


पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका समयमै सडकको काम नहुदा ६० लाख रकम फ्रिज भएको छ । कुम्मायक–४ को कविलाले–पिपलबोटे सडक स्तरउन्नती गर्न कोशी प्रदेश सरकारको ८० लाख रकम छुट्टिएको थियो । सो रकम मध्ये २० लाखको काम भएको र बाँकी ६० लाख फ्रिज भएको हो । सडक निर्माणको गर्दै आएको कुम्मायक–४ को थ्री लक्ष्मी निर्माण सेवाले ८० लाख मध्ये ५० लाखमा ठेक्का लिएको थियो । ठेक्का लिएको निर्माण कम्पनीले २०८१ म्ांसिरदेखि काम सुरु गरेको थियो ।

कबिलाले–पिपलबोटे सडकको ट्याक खोल्ने, सोलिङ र ग्याभिङको काम गर्नुपर्ने उल्लेख थियो । योजनाको ४० प्रतिशत मात्रै काम गरेको भन्दै गाउँपालिकाले २० लाख भुक्तानी गरेको थियो । जुन रकम ठेक्कामा कबोल गरेको भन्दा कम रकम हो । प्राविधिक स्टमेट अनुरुप ५० लाखमा २० लाखको मात्रै काम गरेको भन्दै सोही रकम भुक्तानी गरेको गाउँपालिकाका सव–इन्जिनियर अर्पण लिम्बुले जानकारी दिए ।

सडकको ग्याभिङ र सोलिङ काम समेत पुरा नगरेको र केही स्थानमा भने गुणस्तरहीन भेटिएकाले सच्याउन लगाइएको लिम्बुको भनाइ छ । प्रदेश सरकारको अशर्सत अनुदानको रकम भएकाले ५० लाख मध्ये ३० लाख र ठेक्का लगाएर बाँकी रहेको ३० लाख पनि खर्च हुन नसकेपछि कुल ६० लाख रुपैयाँ फ्रिज भएको हो ।

हाल सो सडकमा हिड्डुल गर्न र सवारी साधनलाई समेत आवतजावतमा समस्या देखिएको छ । कुम्मायक गाउँपालिकाले २०७६ सालदेखि २०७८ सालसम्मको आर्थिक वर्षमा झन्डै १४ लाख रुपैयाँ खर्च गरेको छ । सडकको मर्मत सुधारसंगै आवतजावत गर्न सहजहोस् भन्ने उदेश्य राखिएको थियो । अहिले थप बजेट बिनियोजन भई काम हुदा अझ बिग्रिएर गएको निर्वतमान वडासदस्य बीर बहादुर पाण्डेले बताए ।

पहिले बनाएको बाटो भन्दा झन खराव भएको छ । सोलिङ पुरेर कटिङ गरिएकाले सडकको ग्रेडिङ नमिलाउँदा हिडडुल गर्न समस्या भएको उनको भनाइ छ । गाउँपालिकाले लाखौं रुपैयाँ खर्च गरेर बनाएको सोलिङ पुरेर बाटो बनाइएको छ । पहिलेको भन्दा झन खराब सडक भएको स्थानीय झरेन्द्र खतिवडाले बताए ।