पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुन्तला उत्पादनले किसानको जीवनशैली फेरिदै


पाँचथर । मुख्य बाली मकै र कोदो फल्ने खेत बारीमा अहिले सुन्तला पाकेर पहेँलै भएका छन । आगनको डिलमा फुलबारी बनाउने परम्परागत चलन छ । तर अहिले आगनको डिलमा सुन्तला फल्न थालेका छन । यस्तै दृश्य पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ को आङसराङमा देख्न सकिन्छ । यो क्षेत्र गाउँपालिकाकै सुन्तला पकेट क्षेत्रको रुपमा परिचित छ । जीविकोपार्जनको संकटले गाँजिएको आङसराङको गाउँ आज सुन्तलाको सुवाससँगै समृद्धिको यात्रामा बढेको छ । फाल्गुनन्द गाउँपालिका–७ पिपलबोटेका अगुवा किसान स्वर कुमार आङ्देम्बे समेद्धिको यात्रामा अघि बढ्दै एक उदाहरण बनेका छन । उनले सुरु गरेको सुन्तला खेतीले गाउँ मात्र होइन, किसानको सोचसम्म परिवर्तन गर्न थालेको छ ।
१० वर्षअघि ४० हजार रुपैयाँ लगानीबाट सुरु गरिएको उनको बगैँचाले आज वार्षिक ७ देखि १० लाख रुपैयाँ कमाइ गरिरहेको छ । मकै कोदो फल्ने १३ रोपनी मलिला टारबारीमा लगाएको सुन्तला खेतीले स्वर कुमारलाई नयाँ जीवन दिएको छ्। “पहिले वर्ष भरी लगाएको अन्नपातले वर्षदिनसम्म खान पुग्दैन थ्यो । खेतबारीले खर्च पनि धान्दैनथ्यो, अहिले विदेशै जानुपर्ने दबाब पनि हट्यो,” उनिभन्छन् ।

सुन्तलाको आम्दानीबाट दुई छोरालाई काठमाडौंमा प्राविधिक विषय पढाउँदै आएका उनि परिवारको खर्च मात्रै होइन बचत पनि गर्दै आएको बताउँछन । आङ्देम्बेको सफलताले प्रभावित भएर अहिले गाउँका डेढसय घरधुरीले सुन्तला खेतीलाई प्राथमिकता दिएका छन् । बगैँचामै व्यापारी आइपुग्ने भएकाले किसानलाई बजार खोजिरहनु नपर्ने, बेचबिखन सहज हुने गरेको छ । सोही वडाका अर्का अगुवा कृषक हुन विश्व भट्टराई । उनले ‘१९ रोपनीमा ५ सय ५० बोट सुन्तला लगाएका छन ।

गतवर्ष ८२ कुइटेल ३७ केजी सुन्तला बिक्री गरेका उनले ९ लाख ३७ हजार आम्दानी गरेको बताए । अहिले व्यपारीले लिने नाफा हामी आफैँ शहर लगेर बेचेर लिन्छौँ । धान खेती गर्ने जग्गामा सुन्तला लगाएका छौँ । अहिले व्यावसायीक रूपमा खेती थालेको ८ वर्ष भयो ।’
आङसराङमा उत्पादन भएको सुन्तला झापाको विर्तामोड दमकहुँदै विभिन्न बजारमा पुग्छन् । मंसिरदेखि सुन्तला टिप्न थालिन्छ । परम्परागत रूपमा सुन्तला खेती विस्तार भए पनि अहिले आधुनिकीकरण हुँदै गएको पाइन्छ । गत वर्ष वडाबाट करिब २ करोडभन्दा बढी मूल्यको सुन्तला बिक्री भएको स्थानीय व्यापारी प्रेम चेम्जोङले बताए ।
उनले भने, ‘सुन्तालको उत्पादन गत वर्ष राम्रो थियो । यो वर्ष अलि केही कम उत्पादन भएको छ । यो वर्ष पनि डेढ करोडको सुन्तला यहाँबाट निर्यात हुन्छ उनले भने् । गाउँमा पुराना विरुवा मर्न थालेपछि नयाँ विरुवा पनि हुर्काउन थालिएको छ । यसले गर्दा सुन्तलाको अझै विस्तार हुँदै गइरहेको छ । यहाँका किसानको मिहिनेतको फल सुन्तला फलेको बेला देखिन्छ ।

बिरुवा उत्पादन पनि यहीँ हुने गरेको छ । सुन्तला खेतीले यहाँका किसान सन्तुष्ट देखिन्छन् । खाद्यान्न बालीभन्दा धेरै गुणा बढी आम्दानी सुन्तला खेतीबाट फाइदा लिने गरेको पुर्व वडाअध्यक्ष समेत रहेका अर्का किसान लिला बल्लभ नेपालको भनाइ छ । ‘प्रत्येक वर्ष ५ देखि ७ लाख जतिको सुन्तला बेच्छु । व्यापारी घरमै आउँछन् । खेती बढाउँदै लगेको छु,’ उनले भने, ‘यहाँ अहिले सुन्तला खेती फस्टाएको पनि छ ।’

फाल्गुनन्द गाउँपालिकाले पनि एक वडा, एक पकेट क्षेत्र घोषणा कृषि क्षेत्रमा काम गर्दै आएको छ । गाउँपालिकाले बगान व्यवस्थापन, किरा–रोग नियन्त्रण, र सडक पहुँचजस्ता चुनौतीलाई समाधान गर्दै आएको उपाध्यक्ष ठाकुरसिं नेम्वाङले बताए । गाउँपालिकाले उत्पादन बढाउन तालिम, औजार र प्राविधिक सहयोग गर्दै आएको भन्दै यसलाई निरन्तरता दिने उनको भनाइ छ ।
जिल्लाको डोबाटे, रानीगाउँ, कुरुम्बा लगायतका स्थानमा सुन्तलाको उत्पादन राम्रो हुने गरेको छ । यद्यपि पानी व्यवस्थापन, किरा–रोग नियन्त्रण, र सडक पहुँचजस्ता चुनौतीहरू अझै छन् । तर सामुदायिक प्रयास, स्थानीय तहको रणनीति र किसानहरूको एकताले यी चुनौती हट्दै गएको देखिन्छ ।