पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उत्तरे–यासोक सडक कालोपत्रेको काम अन्तिम चरणमा


पाँचथर । पाँचथरको फाल्गुनन्द र कुम्मायक गाउँपालिकाको सडक हिउँद र बर्खामा धुलाम्मे र हिलाम्मे हुन्थ्यो । नागरिकलाई दैनिक आवतजावत गर्न समस्या थियो । तर अहिले समय फेरिएको छ । गाउँको सडकमा कालोपत्रेको काम धमाधम हुनथालेपछि सो क्षेत्रका नागरिक उत्साहित भएका छन ।

जिल्लाको फाल्गुनन्द र कुम्मायक गाउँपालिका जोड्ने उत्तरे–यासोक १४ दशमलव २५० किलोमिटर सडकमा कालोपत्रेको काम हुदैछ । पहिलो चरणमा कुम्मायक गाउँपालिका केन्द्रको यासोक बजारदेखि फाल्गुनन्द–७ को चिया बगानसम्मको ८ किलोमिटर सडक कालोपत्रे पुरा भएको छ । देउराली भीर हुदै सुलुम्फिसम्मको सडक खण्डमा ट्याक खोल्ने काम अन्तिम चरणमा पुगेको छ । उत्तरे–सुलुम्फि सडक खण्डमा कालोपत्रेको काम धमाधम भइरहेको छ । देउराली भीरको चट्टानको कटिङ गर्दा समय लाग्ने भएकाले दोस्रो चरणमा कालोपत्रे गर्ने निर्माण पक्षको तयारी छ ।

गाउँमा पहिलो पटक कालोपत्रे सडक आएपछि खुसी लागेको फाल्गुनन्द–७ की जसमती चेम्जोङले बताइन । बिदेशमा भएका छोराछोरीहरुले सडकको बिषयमा बेलाबेला फोन गरेर बुझ्ने गरेको उनको भनाइ छ । “पहिला–पहिला हिलो र धुलोले घर आगनमा बस्न समस्या थियो । घरवरिपरि बस्ने अवस्था थिएन, अहिले कालोपत्रे भएपछि राम्रो देखिएको छ् हर्सित मुद्रामा चेम्जोङले भनिन् ।
घर आगनमै कालोपत्रे सडक आएपछि सोही वडाकी चन्द्रकला आङ्देम्बे पनि खुसी देखिन्छिन ।

पहिले–पहिले भारी बोकेर हिड्ने बाटोमा अहिले कालोपत्रे भएर गाडी गुड्न थालेपछि बिदेशमा बस्ने परिवारका सदस्यहरुले खुसी मनाउने गरेको उनको भनाइ छ । २०७९ असारदेखि ३० महिनामा काम सम्पन्न गर्ने गरी सडक डिभिजन कार्यालय इलामको ४४ करोड ६० लाख ९१ हजार ७८४ रुपैयाँमा सपना÷हिम्डुङ्घ एण्ड थोकर जेभी काठमाडौंलाई ठेक्का दिएको थियो ।

निर्माण कम्पनीले १४ किलोमिटर मध्ये ११ किलोमिटर सडक २०८१ पुष २७ मा पुरा गर्ने सम्झौतामा उल्लेख थियो । तर निर्धारित समयमा काम पुरा नभएपछि दोस्रो पटक २०८२ फागुनसम्मको म्याद थपिएको छ । योजनाको भौतिक र वित्तिय प्रगति राम्रो भएकाले समयअवधिमै काम सम्पन्न हुने निर्माण कम्पनीको दावी छ । उत्तरे–यासोक सडक खण्ड मध्ये यासोक–चियाबगानसम्मको ८ किलोमिटर कालोपत्रे पुरा भएको छ । चियाबगान हुदै सुलुम्फिसम्मको चट्टाने भीरको सडकमा केही समय लाग्छ । सुलुम्फि–उत्तरे ३ किलोमिटर सहित १२ किलोमिट पुष

महिनासम्ममा कालोपत्रे गर्ने निर्माण कम्पनीका साइट इन्चार्ज रोहित पौडेलले बताए । हालसम्मको बित्तिय र भौतिक प्रगति ६८ प्रतिशत भएकाले यहि आर्थिक वर्षको फागुन महिनाभित्र कालोपत्रेको काम पुरा गर्ने निर्माण कम्पनीको लक्ष्य छ ।
सडक आसपासको संरचना हटाउन ढिलो हुनु, चट्टाने भीरमा सडक बनाउन समय लाग्नु जस्ता कारणले केही ढिला भएको निर्माण कम्पनीको दावी छ । उत्तरे–यासोक–लुम्बुघाट हुदै तेह्रथुमको सदरमुकाम म्याङलुङसम्म जोड्ने उदेश्य अनुरुप कालोपत्रेको काम अघि बढेको हो ।

बहुवर्षे योजना अनुसार पहिलो चरणमा उत्तरे–यासोक सडक कालोपत्रे भएको हो । दोस्रो चरणमा यासोक–लुम्बुघाट सडक खण्ड कालोपत्रे हुनेछ । कच्ची सडक कालोपत्रेमा जोडिएपछि पालिकाबासीलाई सहज भएको कुम्मायक र फाल्गुनन्द गाउँपालिकाले जनाएको छ ।
गाउँ–गाउँमा भएको कालेपत्रे सडक निर्माणले नागरिकमा उत्साह थपेको छ । जसले गर्दा बजार बिस्तार समेत सहयोग पुगेको छ । बढ्दै गएको बसाइसराई केही कम भएको स्थानीयले बताउँदै आएका छन ।