यासोक । “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने मुल नारा सहित पाँचथरको फाल्गुनन्द गाउँपालिकामा पाँच योग, पाँच जडिबूटी अभियान अघि बढेको छ । फाल्गुनन्द गाउँपालिका फाक्तेप आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखाको आयोजनामा फाल्गुनन्द–३, ४ र ६ नम्बर वडामा संचालन भएको हो ।
एक घर पाँच योग र पाँच जडिबूटी अभियानले दैनिक जीवनशैलीलाई परिवर्तन गरी रोगसंग लड्ने सक्ति प्रदान गर्ने उदेश्यले अभियान अघि बढेको हो । अभियानले स्थानीय स्तरमा पाइने जडिबूटीहरुको प्रयोग गरी स्वास्थ्य जीवनशैली अपनाउन नियमित योग, व्यायम गर्नुपर्नेमा जोड दिएको छ ।
शुक्रवार फाल्गुनन्द–६ को वडा कार्यालय भएको कार्यक्रमका सहभागीहरुलाई पाँच वटा योग अभ्यास र गाउँ घरमै पाइने पाँच जडिबूटीको बारेमा जानकारी गराइएको थियो । अभियानको सहजीकरण गर्दै बरिष्ठ कबिराज राजु पराजुली र राम कृपाल यादवले औषधीय गुण भएका घीउ कुमारी, तुलसी, गुर्जो, असुरो र पुदिनाको प्रयोगका फाइदाहरुको विषयमा जानकारी गराउँनु भएको थियो । त्यस्तै महत्वपूर्ण पाँच योगका आसन र फाइदाको विषयमा समेत सहजिकरण गरिएको बरिष्ठ कबिराज राजु पराजुलीले जानकारी दिनुभयो ।
अभियानमा वडाअध्यक्ष नारायण प्रसाद आङ्देम्बे, वडा सचिव जय बहादुर तामाङ, वडा सदस्य, कर्मचारी, शुरक्षाकर्मी स्थानीयको सहभागीतामा सम्पन्न भएको थियो ।






प्रतिक्रिया