पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाँचथरको जेठ्ठो विद्यालयमा सेनाको २५ दिन श्रमदान


पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ स्थीत जयनारायण आर्दश मावि मेहेलबोटेमा नेपाली सेनाले २५ दिन लामो श्रमदान गरेको छ । २००५ सालमा स्थापना भएको जिल्लाकै जेठ्ठो विद्यालयमा सेनाको बीरदल गण ओर्दिन पाँचथरले २५ दिनसम्म निशुल्क रङ रोगन र भित्तेलेखन गरेको हो । मंसिर १६ गतेदेखि विद्यालयको रङ रोगन र भित्ते लेखनमा जमदार शंकर चौधरीको नेतृत्वमा ९ जनाको टोली निशुल्क श्रमदानमा खटिएको थियो । सेनाले विद्यालयका ६ वटा भवनमा रङरोगन, भित्तेलेखन गरेको थियो । फाल्गुनन्द गाउँपालिकाले ४ लाख रुपैयाँको रङ खरिद गरेपछि सेनाले २५ दिन लामो निशुल्क श्रमदान गरेको हो ।

गाउँपालिकाले रङरोगन र भित्तेलेखन गर्न बजेट बिनियोजन गरी रङ खरिद गरेको थियो । भवनमा रङरोगन र भित्ते लेखनमा ठुलो खर्च लाग्ने भएपछि गाउँपालिकाको समन्वयमा सेनाले सहयोग गरेको विद्यालयका प्रधानाध्यापक प्रकाश आचार्यले जानकारी दिए । शुक्रवार विद्यालयले एक कार्यक्रमको आयोजना गरी श्रमदानमा खटिएका सेनाको ९ जनाको टोलिलाई विदाई गरेको छ । विद्यालयले सम्मान स्वरुप नेपाली ढाका टोपी र माला लगाएर विदाइ गरेको हो । नेपाली सेनाको परिश्रम र अनुशासनको प्रशंसा गरेको फाल्गुनन्द गाउँपालिकाले आगामी दिनमा पनि निरन्तर सहकार्य गर्ने जनाएको छ ।

विदाई कार्यक्रममा फाल्गुनन्द–६ वडाअध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता नारायण प्रसाद आङ्देम्बे, शिक्षा शाखा प्रमुख मेदनी प्रसाई, शिक्षक र अभिभावकहरुले सेनाको प्रशंसा गर्दै ढाका टोपी र माला लगाएर बिदाइ गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र बहादुर चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको थियो ।