पाँचथर । पातञ्जल योग समिति पाँचथरले नेपाली सेनाहरुको लागि पाँच दिवसीय योग बिज्ञान शिविर सम्पन्न भएको छ । बीरदल गणको आयोजना तथा पातञ्जल योग समिति नेपालको प्राविधिक सहयोगमा आइतबार शिविर सम्पन्न भएको हो ।
पाँच दिवसीय शिविरले तनावमुक्त जीवनशैली र रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि सहयोग पु¥याएको पातञ्जल योग समितिका पाँचथर अध्यक्ष हेमप्रसाद गौतमले जानकारी दिनुभयो । बदलिँदो जीवनशैली, असन्तुलित खानपान र शारीरिक श्रमको कमीका कारण बढ्दै गएको उच्च रक्तचाप, मधुमेह, मोटोपन लगायतका समस्याबाट छुटकारा पाउँन योग महत्वपूर्ण माध्यम भएको गौतमको भनाइ थियो ।
पाँच दिनसम्म संचालन भएको शिविरमा प्राणायाम, आसन, ध्यान तथा योग दर्शनसम्बन्धी प्रशिक्षण दिएको थियो । शिविरको सहजिकरण प्रदेश सदस्य राजेन्द्र अधिकारी जिल्ला सचिव श्रीङखला भट्टराइ, सदस्य शंखर आङदेम्बेले योग अभ्यासलाई दैनिक जीवनमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे जानकारी गराएका थिए ।
योग अभ्यासले मानसिक शान्ति, शरीरमा स्फूर्ति र दैनिक जीवनशैलीमा परिवर्तन आएको बीरदल गणका गणपती प्रमुख सेनानी किशोर अधिकारीको अनुभव छ । नियमित योगले तनाव कम गर्नुका साथै निद्रा सुधार, पाचन प्रणाली सुदृढ र आत्मविश्वास बढेको उहाँको भनाइ छ ।
पुष १० गतेदेखि संचालन भएको शिविरमा २३३ जना सैनिक अधिकृत र जवानहरुलाको सहभागीता रहेको थियो । पाँच दिवसीय शिविरको समापन समारोहमा योगा समिति पाँचथरका सल्लाहकार नरेन्द्र अधिकारी, हिलिहाङ गाउँपालिका अध्यक्ष सम्मर बहादुर अधिकारीको सहभागीता रहेको थियो ।






प्रतिक्रिया