पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कुम्मायकमा वन्यजन्तुको सिकार र वन डढेलो नियन्त्रणबारे सचेतना कार्यक्रम


यासोक । सामुदायिक वन क्षेत्रमा बढ्दो वन्यजन्तु चोरी निकासी र वन डढेलोका घटनालाई नियन्त्रण गर्ने उद्देश्यले एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पाँचथरको कुम्मायक गाउँपालिका–१ को तमोर कोरिडोर सडकमा वन्यजन्तु चोरी निकासी र वन डढेलोको विषयमा अन्तरक्रिया सम्पन्न भएको हो । डिविजन वन कार्यालय पाँचथरको आयोजना तथा सव डिविजन वन कार्यालय यासोकको प्राविधिक सहयोगमा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूह, जनप्रतिनधि, सुरक्षाकर्मी तथा स्थानीय बासीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सव डिविजन वन कार्यालय यासोकमा प्रमुख चन्द्रकान्त झाले पछिल्लो समय वन्यजन्तुको अवैध सिकार तथा चोरी निकासीका घटनाहरू बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले, वन्यजन्तुको चोरी निकासी गर्नेलाई वन ऐन अनुसार डण्ढ र सजायको व्यवस्था रहेकाले सचेत रहनुपर्नेमा जोड दिनुभयो । उहाँले वन डढेलोको मुख्य कारण मानव लापरवाही, अव्यवस्थित घाँस दाउरा संकलन तथा जलवायु परिवर्तन रहेको औंल्याउदै डढेलो नियन्त्रणका लागि पूर्वतयारी, अग्नि रेखा निर्माण निर्माणमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

त्यसैगरी अन्तरक्रियाका प्रमुख अथिति तुम्बेवा गाउँपालिका उपाध्यक्ष खड्गसुन्दर सम्बाहाम्फेले वन डढेलोका कारण वन क्षेत्र र वन्यजन्तुको बासस्थानमा पर्ने हानी नोक्सानीबारे सचेत हुनुपर्ने बताउनुभयो । यस्तो गतिविधिले जैविक विविधता संरक्षणमा गम्भीर असर पार्नुका साथै पारिस्थितिक सन्तुलन बिग्रने खतरा रहेको बताउनुभयो । उहाँले खोला र नदिमा करेन्ट लगाएर माछा मार्ने गतिविधि रहेको भन्दै यस्तो कृयाकलावलाई तत्काल रोक्न जानकारी र गोप्य सुचना गाउँपालिका वा प्रहरीलाई दिन आग्रह गर्नुभयो ।

अन्तरक्रिया सहभागीहरुले होटल र सरकारी कार्यालयमा हुने यस्ता महत्वपूर्ण कार्यक्रम सार्वजनिक स्थलमा भएको भन्दै खुसी व्यक्त गरे । उनिहरुले वन्यजन्तुको चोरी निकासी नियन्त्रणका लागि कडाइका साथ अनुगमन, सूचना सञ्जाल सुदृढीकरण तथा कानुनी कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । यस्ता गतिविधि रोक्न शुरक्षा निकायलाई सहयो गर्ने प्रतिवद्धता समेत जनाएका छन ।

इलाका प्रहरी कार्यालय यासोकका प्रमुख मदनकुमार मैनालीले वन संरक्षणमा समुदायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै वन्यजन्तुको चोरी निकासी र डढेलो नियन्त्रणका लागि सामूहिक प्रयास अपरिहार्य रहेको बताउनुभयो । उहाँले यस्ता गतिविधि भए समयमै सूचना आदान–प्रदान र सुरक्षा निकायसँग समन्वय बढाउनुपर्ने सुझाव दिनुभयो ।

अन्तरक्रियामा वन समुह, कृषक, कर्मचारी, जनप्रतिनिधि र शुरक्षाकर्मी सहित ४० जनाको सहभागीता रहेको थियो । कार्यक्रमका सहभागीहरुले वन्यजन्तुको चोरी निकासी नियन्त्रण र वन डढेलो न्यूनीकरणका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन ।