पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

म्याग्दीमा सुन्तला उत्पादन बढ्यो

चिन्तन खबर

स्थानीयवासी र बाहिरबाट आएका व्यापारीलाई स्थानीयवासीले बोटबाटै सुन्तला बिक्री गरेका हुन् । अहिले बोट नै ठेक्का लिएर खरिद गरेकाले धमाधम सुन्तला टिपेर लैजाने गरेको स्थानीयवासी खिम फगामीले बताए ।

म्याग्दीका सुन्तला उत्पादक किसानलाई यतिबेला सुन्तला बिक्री गर्न भ्याई नभ्याई छ । सुन्तला खरिद गर्न व्यापारी गाउँ–गाउँमा रहेका सुन्तला बगैँचामा नै आउन थालेपछि किसानले घरबाट नै सुन्तला बिक्री गरेर लाखौँ रुपैयाँ आम्दानी गरिरहेका छन् ।

बेनी नगरपालिका–४ बास्कुनाका तिलक गुरुङले रु पाँच लाखमा आफ्नो सुन्तला बोटबाटै बिक्री गरे । पोखराबाट आएका व्यवसायीले गुरुङको ६० वटा बोटमा फलेको सुन्तला रु पाँच लाखमा खरिद गरेका हुन् ।

गुरुङको मात्रै होइन, बास्कुनाका १९ घरधुरीको सुन्तला बोटबाटै प्रतिकिलो रु ६५ का दरले बिक्री भएको छ । पोखराबाट सुन्तला खरिद गर्न गएका व्यापारीले बास्कुनाका सुन्तला बोटबाटै खरिद गरेको बास्कुना सुन्तला किसान समूहमा पनि आबद्ध रहेका किसान गुरुङले बताए ।

गाउँका अन्य सबै घरका सुन्तला व्यापारीले खरिद गरी लगिसके पनि उनको सुन्तला भनै अझै निर्यात हुने क्रममा छ । ‘यो वर्ष मेरो बगैँचामा करिब रु छ लाखको सुन्तला फलेको अनुमान गरेको छु, केही सुन्तला निर्यात भयो, बाँकीलाई समेत केही दिनमै बिक्री गर्ने योजना बनाएको छु,” उनले भने ।

वैदेशिक रोजगारी त्यागेर २०५९ सालमा गाउँ फर्किएका गुरुङले गाउँमा धानखेती छोडेर व्यावसायिक रुपमा सुन्तलाखेती सुरु गरेका थिए । करिब १३ रोपनी खेतमा सुन्तला रोपेका गुरुङको बगैँचामा अहिले ३५० बोटले फल दिन्छन् भने करिब ४०० नयाँ बोट रोपेका छन् । बास्कुनामा रहेका १९ घरधुरीले नै अहिले सुन्तला खेतीलाई व्यावसायिक बनाएका छन् । सबैजसोले धान, कोदो र मकैखेती हुने खेतबारीमा सुन्तलाका बोट रोपेका छन् ।

त्यसैगरीे बेनी नगरपालिका–३ भकिम्लीको राखु गाउँका किसानलाई पनि यतिबेला सुन्तला बिक्री गर्न भ्याई नभ्याई छ । करिब ५० घरधुरीको बसोबास रहेको राखु गाउँमा सबैजसोले सुन्तला खेती गरेका छन् ।

गाउँघरमा रोपिएका १२ हजारभन्दा बढी सुन्तलाका बिरुवामध्ये अहिले नौ हजार जतिले फल दिन थालेको स्थानीयवासी मनकुमारी पुनले बताइन् । गत वर्ष पुनले सुन्तला बिक्रीबाट रु तीन लाख आम्दानी गर्दा गाउँमा रु ३३ लाखभन्दा बढी नगद भित्रिएको थियो ।

“केही दिनयता १५ जनाले निरन्तर सुन्तला टिपिरहेका छन्, अझै १५ दिन सुन्तला टिप्नमै लाग्छ, यहाँ टिपेको सुन्तलालाई पोखरा र काठमाडौँका व्यवसायीसँग सम्पर्क गरी निर्यात गर्छौँ, यो वर्ष गाउँबाट झन्डै रु ४० लाखभन्दा बढी मूल्यको सुन्तला निर्यात हुने अनुमान गरेका छौँ” पुनले भनिन् ।

बास्कुना र राखुमा मात्रै होइन, यतिखेर जिल्लामा सुन्तला उत्पादन भएका ठाउँमा किसानले धमाधम सुन्तला बिक्री गरिरहेका छन् । अधिकांश बगैँचामा पोखरा, काठमाडौँ र धादिङका व्यवसायीले बोटबाटै सुन्तला खरिद गर्ने गरेका छन् । रघुगङ्गा गाउँपालिका–१ बेगखोलाको घाप्पामा रहेका १६ घरधुरीले समेत बोटबाटै सुन्तला बिक्री गरेका छन् ।

स्थानीयवासी र बाहिरबाट आएका व्यापारीलाई स्थानीयवासीले बोटबाटै सुन्तला बिक्री गरेका हुन् । अहिले बोट नै ठेक्का लिएर खरिद गरेकाले धमाधम सुन्तला टिपेर लैजाने गरेको स्थानीयवासी खिम फगामीले बताए ।

घाप्पामा सुन्तला खेतीबाट आम्दानी हुन थालेपछि किसानले खेती हुनेबारीमै व्यावसायिक रुपमा सुन्तला खेतीलाई विस्तार गर्दै लगेका छन् । जिल्ला कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्कअनुसार म्याग्दीमा २६५ जना किसानले सुन्तला खेतीलाई व्यावसायिक बनाएका छन् । ६१६ हेक्टर क्षेत्रफलमा गरिएको सुन्तला खेतीबाट वार्षिक दुई हजार २३५ दशमलव ६ मेट्रिक टन सुन्तला उत्पादन हुने गरेको छ ।

जिल्लाबाट रु सात करोड ५० लाख बराबरको सुन्तला निर्यात हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । जिल्लामा उत्पादन भएको सुन्तलामध्ये ठुलो हिस्सा पोखरा, काठमाडौँ, नवलपरासीलगायत ठुला बजारमा निर्यात हुँदै आएको छ ।

म्याग्दीमा बेनी नगरपालिकासहित बरङजा, अर्मन, ओखरबोट, देवीस्थान, बिम, मुदी, ताकम, मराङ, भगवती, पिप्ले, बेग, भुरुङ तातोपानी, दोबा, हिस्तान, घार, दाना, नारच्याङलगायतका क्षेत्र सुन्तला खेतीका लागि पकेट क्षेत्र मानिन्छन् ।