पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरमा आठ स्थानीय तह छन । एक नगरपालिकासहित सात गाउँपालिका मध्ये सबैभन्दा कमजोर स्थानीय तहको रुपमा कुम्मायक र तुम्बेवा गाउँपालिकालाई मानिन्छ । दुबै गाउँपालिकालाई नेपाल सरकारले सुख्खाक्षेत्र घोषण गरी बृहत तमोर पंम्पिङ खानेपानी योजना संचालन हुँदै आएको छ । स्थानीय तहको संरचनाले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, भवन लगायतका पुर्वाधारमा यी पलिकले फड्को मारेका छन् । नागरिकले उपभोग गर्दा समेत पछिल्ला वर्षहरूमा जनसंख्या वृद्धिदरभन्दा बसाइँसराइको समस्या भोग्दै आएको छ ।
बालीनालीमा सुख्खाले उत्पादन घट्ने र रोजगारीको अवसर नपाएपछि युवा र शिक्षित जनशक्ति बैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ । गाउँमा जेष्ठ नागरिक र परिवारका केही सदस्यहरुलाई सुविधा सम्पन्न स्थानमा सार्ने क्रम बढ्दै जान थालेको छ । बसाइँसराइको मुख्य कारण खानेपानीको समस्या, स्वास्थ्य सेवाको अभाव, रोजगारीको समस्या रहेका छन् । गाउँका धेरै घरमा वृद्धवृद्धा, महिला र बालबालिका मात्रै बसोबास गर्दै आएका छन् भने युवाहरु रोजगार, शिक्षा र सुविधाको खोजीमा बैदेशिक रोजगारीमा छन । पछिल्लो समयमा स्थानीय तहको तथ्यांकले पनि जन्मदर घट्दै गएको र बसाइँसराइ बढ्दै गएको देखाएको छ ।
गाउँ रितिए, खेती योग्य जमिन बाँझिए
तुम्बेवा र कुम्मायक गाउँपालिकाका अधिकाम्स वडाहरूमा घरहरू सुनसान देखिन थालेका छन् । कतिपय बस्तीमा घर खाली छन् भने केही घर ताला लागेको देख्न पाइन्छ । खेती योग्य जमिन बाँझिएका छन । टमोर टटीय क्षेत्रका किसानले लगाएको बालीनाली समेत बाँधरले क्षति पु-याउने गरेको छ । कुम्मायक गाउँपालिकामा २०६८ सालको जनगणना अनुसार यहाँको जनसंख्या कुल १६ हजार ११८ थियो । २०७८ सालको जनगणनामा यो संख्या घटेर १२ हजार ७४६ मा झरेको छ । दश वर्षको समय अवधिमा ३ हजार ३७० जनसंख्या घटेको छ । बार्षिक रुपमा ३३७ जनाको दरमा घटेको देखिन्छ । जनसंख्या घट्नुमा सबै भन्दा ठुलो कारण बसाइँसराइ हो । २०७८ देखि यताको जनसंख्या घट्ने क्रम बढेको पाइन्छ । २०८० सालमा ४३३, २०८१ मा ४७८ र २०८२ मा ४०८ गरी तीन वर्षको अवधिमा १ हजार ३१९ परिवार बसाइँसरी गएको कुम्मायक गाउँपालिका पञ्जिकरण शाखा प्रमुख मदन थापाले जानकारी दिनुभयो। यो संख्या आधिकारी रुपमा गाउँपालिकामा दर्ता भएको संख्या हो । तर दर्ता नगरी बसाइँसर्ने नागरिकको संख्या पनि उत्तिकै बढेको छ ।

त्यस्तै तुम्बेवा गाउँपालिकामा पनि बर्षेनी जनसंख्या घट्दै गएको छ । जसको मुख्य कारण बसाइँसराइ हो । २०६८ सालमा १३ हजार ४५४ रहेको जनसंख्या २०७८ सालमा आईपुग्दा ११ हजार १८९ जनामा झरेको छ । दश वर्षको अवधिमा २ हजार २६५ जना घटेका छन । यो कुम्मायक भन्दा केही कम अनुपात हो । यो गाउँपालिकामा पनि बसाइँसराइको दर उच्च छ । जसको प्रमुख कारण खानेपानी समस्या हो । “पहिलेको तुलानामा अहिले बसाइँसराइ कम भएको छ, हामीले नागरिकका आधारभूत आवश्यकता पुरा गर्दै आएका छौ ” गाउँपालिका उपाध्यक्ष खड्गसुन्दर सम्बाहाम्फेले भन्नुभयो । गाउँमा कालोपत्रे सडक पुगेको छ । तमोर लिफ्टिङ खानेपानी योजनाबाट पानी बितरण हुन बाँकी छ । खानेपानी योजना समयमै पुरा नहुँदा अलि समस्या छ । खानेपानी समस्या समाधान भए केही मात्रामा बसाइँसराइ रोकिने सम्बाहाम्फेको भनाइ छ ।
कुम्मायक गाउँपालिका–५ को बिजुवापानी टोलमा एक दशक अघि ८४ घरधुरी थियो । अहिले घटेर ६० घरधुरी पुगेको स्थानीय सेर बहादुर थापाले भन्नुभयो । उहाँले भन्नुभयो “हाम्रो टोलमा पहिले ८४ घरधुरीको बसोबास थियो । अहिले २४ घर खाली छन् । गाउँमा धेरै युवा बिदेशमा छन । उनिहरुले जग्गा जमिन घर घडेरी तराइमा किनेका छन । परिवार उतै लाने गरेका छन । फर्किने सम्भावना कम देखिन्छ।”

तुम्बेवा गाउँपालिका–१ की चित्रानी सम्बाहाम्फेले भने पानी अभावकै कारण बसाइँ सरेर जाने क्रम बढेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “नजिकै खानेपानीका मुहान छैनन् । माथिबाट ल्याइएको सानो पानी सबैले बाँडेर खानुपर्छ । त्यसले मात्रै पुग्दैन अनि ट्याक्टरमा बोकेको पानी खानुपर्छ । तरमो पम्पिङ गरेर पानी ल्याइएको भनियो । तर अत्तोपत्तो छैन् अब पानी अभाव भएपछि बसाइँ सर्नुको विकल्प रहेन।”
कुनै समय बाक्लो बस्ती रहेको पाँचथरको तुम्बेवा गाउँपालिका–१ ढुकुरे अहिले भने सुनसान बन्दै गएको छ । आधाभन्दा बढी घर खाली भइसकेका छन् । कतिपय घर भत्किँदै गएका छन् भने खेतीयोग्य जमिन झाडीले ढाकिँदै गएको छ । ढुकुरेको डाँडागाउँमा १३ परिवारको बसोबास थियो । अहिले जम्मा दुई परिवार मात्रै बसोबास गरिरहेको स्थानीय गणेश कार्कीले बताउनुभयो । अधिकांश छिमेकीले बस्ती छाडिसकेका छन् । कार्कीले भन्नुभयो – “कोही गाउँ छोडेर नजाने अठोटमा छन् । मेरो घरछेउका पाँचवटा घरसहित एउटै गाउँबाट ११ घर बसाइँ सरे । बस्ती सुनसान भएको देख्न सकिन्छ । जङ्गलले ढाक्दै लगेको छ । बस्नेहरूमा भविष्यप्रतिको आशा पनि घट्दै गएको छ ।”
गाउँमा जन्मिने भन्दा बाहिरिनेको संख्या बढी हुँदा विद्यालय, कृषि उत्पादन र सामुदायिक संरचनामा समेत असर देखिन थालेको छ । विद्यार्थी संख्या घटेका कारण कतिपय विद्यालयमा कक्षा सञ्चालन गर्न चुनौती उत्पन्न भएको स्थानीय सहरसिं तामाङले बताउनु भयो । अहिले गाउँमा जन्मदर घटेको छ । जसले गर्दा विद्यालयमा बालबालिका घटेका छन । त्यसमा पनि अधिकाम्सले गुणस्तरीय शिक्षाको खोजी गर्दै सहरबजार र तराई बसाइँ सर्ने गरेका कारण विद्यालयमा विद्यार्थीको अभाव देखिएको उहाँको भनाइ छ ।
खानेपानीको समस्या : बसाइँसराइको प्रमुख कारण
खानेपानी समस्या दुवै गाउँपालिकाको सबैभन्दा जटिल बनेपछि सो समस्या देखिएको सरोकारवालाहरु बताउनुहुन्छ । कुम्मायक गाउँपालिकामा लामो समयदेखिको खानेपानी समस्या समाधान भएको छ । तर तुम्बेवा गाउँपालिकामा यो समस्या उस्तै छ । पहाडी क्षेत्रमा रहेका मुहानहरू सुक्दै जानु, जलवायु परिवर्तनका असर, वन क्षेत्रको परिवर्तन तथा खानेपानीमा पर्याप्त लगानी भएपनि उपलब्धि सन्तोषजन नहुँदा खानेपानी संकट बढ्दै गएको हो । तुम्बेवा गाउँपालिकाका अधिकाम्स बस्तीमा अझै खानेपानी समस्या छ । पालिकामा यस्तो समस्या देखिँदै आएपछि सरोकारवाला चिन्तित छन् ।








प्रतिक्रिया