फिदिम । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले याक्थुङ प्रज्ञा प्रतिष्ठान सहितका संघ संस्था तथा अभियन्ताहरुले याक्थुङ (लिम्बू) भाषा साहित्यको सम्वर्द्धनका लागि गरेको प्रयास सह्रानीय रहेको वताउनुभएको छ ।
याक्थुङ प्रज्ञा प्रतिष्ठानको दोश्रो महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पूर्वमन्त्री नेम्वाङले सरकारी निकायहरुको सहयोगविना लिम्बू भाषा साहित्यको गुणात्मक विकासमा प्रतिष्ठान तथा अभियन्ताहरुले प्राप्त गरेको सफलता महत्त्वपूर्ण रहेको वताउनुभयो ।
“राज्यका निकायहरुको सहयोगविना याक्थुङ प्रज्ञा प्रतिष्ठानले भाषा साहित्यको क्षेत्रमा गरेको प्रगति उल्लेखनीय छ । यो प्रगति राज्यले सुन्ने, बुझ्ने अवस्थामा आइपुगेको छ”, पूर्वमन्त्री नेम्वाङले भन्नुभयो, “राज्यले यी क्षेत्रलाई यथोचित सम्बोधन गर्ने विषयमा अभियन्ताले उठाएका आवाजहरुलाई ठाउँसम्म पुर्याउन सहयोग गर्नेछु ।” पूर्वमन्त्री नेम्वाङले प्रतिष्ठानको महाधिवेशनमा भाग लिन पाउँदा भाषा साहित्यको क्षेत्रबारे जानकारी लिने मौका मिलेको भन्दै आगामी दिनमा समेत यस प्रकारका कार्यक्रममा आफू सहभागी हुने वताउनुभयो ।
उहाँले संविधानमार्फत सबै मातृभाषाको सम्वर्द्धनमा, संरक्षण एवम् विकासमा गरिएका ब्यवस्थाहरुलाई प्रभावकारी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो । “अव हामीले संघर्ष गरेर अधिकार माग्नुपर्ने अवस्था छैन्”, नेम्वाङले भन्नुभयो, “प्राप्त उपलब्धिको सदुपयोग र थप उपलब्धि हाँसिल गर्न सक्रिय हुनुपर्छ ।”
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य हरिचन्द्र लावतीले नेम्वाङमार्फत शिक्षणको भाषा नेपाली र अङ्ग्रेजीपछि मातृभाषा राख्न संसदमा आवाज उठाउन आफूले प्रयास गरेको स्मरण गर्दै लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउन प्रयास आवश्यक रहेको वताउनुभयो ।
किराँत याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेशका अध्यक्ष मधुराज केरुङले याक्थुङ भाषा साहित्यलाई स्तरिकृत गर्दै अन्य भाषाका साहित्यसँग प्रतिस्पर्धी बनाउनु पर्नेमा जोड दिनुभयो । प्रतिष्ठानको दोश्रो महाधिवेशन हिँजै सम्पन्न भई पुनः राजेन्द्रकुमार जबेगू कुलपति चयन हुनुभएको छ ।
प्रतिक्रिया