दुर्गा खनाल
पाँचथर । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँचथरमा महिलाले अत्यन्तै न्यून टिकट पाएका छन् ।
निर्वाचन आयोगले स्थानीय तहको प्रमुख र उप प्रमुख वा अध्यक्ष र उपाध्यक्षको पद मध्ये एक पदमा उम्मेदवारी दिने, राजनीतिक दलले महिलाको मनोनयन व्यवस्था गर्ने निर्देशन दिएको थियो ।
पाँचथरको एक नगर र सात वटा गाउँपालिकाको प्रमुखमा एक जना महिला बाहेक प्रमुख पदमा अरु कसैको उम्मेद्वारी परेको छैन । सबै पालिकामा पुरुष कै उम्मेद्वारी छ । मिक्लाजुङ गाउँपालिकामा मा नेपाल क्म्युनिष्ट पार्टि (माक्र्सवादी लेलीनवादि) ले अध्यक्षमा चन्द्रमाया बोहोरालाई उम्मेद्वारी दिनुभएको छ ।
जिल्लाका पालिका उपाध्यक्ष पदमा जम्मा छ जना महिलाको उम्मेद्वारी दिनुभएको छ ।
गठबन्धनमा भागबन्डा गरेका नेपाली कांग्रेस र माओवादी केन्द्रले आठ वटै स्थानीय तहमा उपमेयर र उपाध्यक्षमा महिला उम्मेदवार उठाएनन् । फिदिम नगरपालिकामा गठबन्धन गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमालेले पनि उपमेयरमा महिलालाई मौका दिएनन् । बाँकी सात गाउँपालिकामा भने एमालेले उपाध्यक्षमा महिलाको उम्मेदवारी दर्ता गराएको छ ।
जिल्लाको एकमात्र नगरपालिका फिदिममा सत्ता गठबन्धनका तर्फबाट मेयर पदमा नेपाली कांग्रेसका मित्रप्रसाद काफ्ले र उपमेयरमा माओवादी केन्द्रका राधाकृष्ण न्यौपानेले उम्मेदवारी दिएका छन् । यो नगरपालिकामा एमाले र राप्रपाका तर्फबाट मेयरमा एमालेका पृथ्वी लावती र उपमेयरमा राप्रपाका जगत थापा मगरले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाको फालेलुङमा सत्ता गठबन्धनका तर्फबाट अध्यक्ष पदमा कांग्रेसका वीरविक्रम थाम्सुहाङ र उपाध्यक्षमा माओवादी केन्द्रका महेन्द्र जवेगु, याङवरकमा अध्यक्षमा कांग्रेसका मुविन्द्र योङया र उपाध्यक्षमा माओवादी केन्द्रका अर्जुन बेघा, हिलिहाङ अध्यक्षमा कांग्रेसका समरबहादुर अधिकारी र उपाध्यक्षमा नेकपा एकीकृतका भवानी लिङदेन, कुम्मायकमा कांग्रेसका बमप्रसाद लावती र उपाध्यक्षमा माओवादी केन्द्रका महेन्द्रबहादुर खड्का, तुम्वेवामा अध्यक्षमा कांग्रेसका बाबुराम खड्का र उपाध्यक्षमा माओवादी केन्द्रका खड्ग सम्वाहाम्फे, मिक्लाजुङमा अध्यक्षमा माओवादी केन्द्रका अमरराज माखिम र उपाध्यक्षमा कांग्रेसका सन्तकुमार सेर्मा (सन्तोष) तथा फाल्गुनन्दमा अध्यक्षमा कांग्रेसका बृजहाङ आङदेम्वे र उपाध्यक्षमा माओवादी केन्द्रका ठाकुरसिंह नेम्वाङको उम्मेदवारी दिएका छन् ।
एमालेका तर्फबाट फालेलुङमा अध्यक्षमा जयप्रसाद केरुङ, उपाध्यक्षमा सुजाता बान्तावा, हिलिहाङमा अध्यक्षमा भुवानीप्रसाद लिङ्देन र उपाध्यक्षमा सुमित्रा उप्रेती सेढाईं, कुम्मायकमा अध्यक्षमा भीम सम्वाहाम्फे र उपाध्यक्षमा सीता आचार्य, तुम्वेवामा अध्यक्षमा गोविन्दबहादुर तामाङ र उपाध्यक्षमा नन्दा धमला, मिक्लाजुङमा अध्यक्षमा नरेन्द्र बस्नेत र उपाध्यक्षमा धनमाया सारु, फाल्गुनन्दमा अध्यक्षमा वीरबहादुर कुरुम्वाङ र उपाध्यक्षमा बबिता नेम्वाङको उम्मेदवारी दर्ता गराएको छ ।
प्रतिक्रिया