फिदिम । २०७६ मङ्सिर १४ गते रिक्त रहेका स्थानमा उपनिर्वाचनको मतदान हुँदै गर्दा पाँचथरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङ मन्त्री बनेको चार दिन वित्दै थियो । मन्त्रालयको कार्यभार सम्हाल्न नपाउँदै उहाँलाई आफ्नो वडा फिदिम नगरपालिका–१ को वडाध्यक्ष पदका लागि मतदान गर्नुपर्ने हतारो थियो ।
मन्त्रीले मतदान गर्ने मन्त्रीकै वडा भएका कारण फिदिम–१ जसरी चुनाव जित्नैपर्ने बाध्यतामा तत्कालीन नेकपा थियो भने नेपाली काँग्रेस आफ्नो विरासत जोगाउन तल्लीन थियो । सो दिन नेम्वाङले मतदान गरेको फिदिम माध्यमिक विद्यालयको खेलमैदान भत्केर नियमित फुटवल प्रतियोगिता र अभ्यास अवरुद्ध थियो । बजारको मुख्य सडक कच्ची थियो भने शाखा सडकहरु अस्तब्यस्त थिए । ‘गाउँको सिंहदरबार’ भनिएको फिदिम नगरपालिका बनेको तीन वर्ष वितेपनि सदरमुकाममा सुधार र परिवर्तनले ‘उल्लेख्य’ बनिसकेको थिएन ।
घोषणापत्रमार्फत फिदिमका यस्ता समस्या हल गर्ने घोषणा गरेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विकासको सुरुआतका लागि आफ्ना उम्मेद्वारलाई जीताउन अपील गर्यो । नभन्दै तत्कालीन नेकपा (हाल नेकपा (एमाले))का नेता गजाधर भट्टराई भारी मतान्तरले वडाध्यक्ष चुनिनुभयो ।
अहिले स्थानीय तहको आवधिक निर्वाचन सम्मुखमा आएको छ । दलहरुलाई चुनाव जीत्ने ध्याउन्न छ, कार्यकर्तालाई जीताउनु पर्ने बाध्यता । सत्तारुढ गठबन्धन र सारतः एक्लो एमालेवीच कडा प्रतिस्पर्धा हुने दुवै पक्षका तयारीले पुष्टि गर्छन् ।
चुनाव नजिकिएपछि पुराना कुरा स्मरणमा आउँछन् । विपक्षी कार्यकर्ताले चुनाव जीत्नेले विगतका एजेण्डा पूरा नगरेको भन्छन् भने चुनाव जीतेकाहरुले प्रयासमा रहेको बुझाउन खोज्छन् । राजनीतिका यहि चक्रमा जिल्लाको मुटु मानिने फिदिम नगरपालिका–१ पनि जोडिएको छ ।
फिदिम फेरियो कि छैन् ?
सदरमुकाम हुनुका नाताले सबैको ध्यान यहि ठाउँमा पर्छ । विकास र सुधारका कार्य पनि यहिँबाट सुरुआत हुनुपर्ने थियो । तर उपनिर्वाचन अघिभन्दा उपनिर्वाचनपछि यो सवाल पेचिलो बन्यो ।
अढाई वर्षपछि आवधिक निर्वाचनमा मत माग्न जाँदा होस् वा मतदान गर्न जाँदा, आँखाअघि फिदिम स–चित्र छँदै छ । विपक्षीको विरोध वा सत्तापक्षको दाबी ‘पर’ राखेर हेर्दा उपनिर्वाचनपछि फिदिमले मुहार फेर्न थालेको भने स्पष्ट छ । पेचिला सवालमा बरु जस लिने बाढी नै आउला, तर फिदिममा स–साना कुराबाट सुधारको सुरुआत भने सबैको ध्यान खिचेको उपनिर्वाचनपछि भएकै छ ।
पूर्वाधार विकासमा फड्को मार्दै
साढे २ वर्षको अवधिमा फिदिममा केही देखिने र प्रभावकारी काम भएका छन् ।
पहिलोः छोटो भएपनि फिदिमको ठाडोलाइन ब्यवस्थित नहुँदा सकस थियो । ठाडोलाइन मुख्य ब्यापारिक स्थान भएकाले यसलाई सुधार अत्यावाश्यक थियो । साँघुरो बाटो, धुलो र हिलोको सधै पीर हुने । चुनावी एजेण्डामा राखेपछि वडाध्यक्ष गजाधर भट्टराईलाई यो सडक कालोपत्रे गराउनै पर्ने दबाव थियो । तर संघीय सरकारको सडकसम्बन्धी मन्त्रालयमा आफैँलाई मत हालेका विभागीय मन्त्री पाउँदा उहाँले यो दबाव धेरै थेग्नु परेन ।
नेम्वाङ मन्त्री रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको योजनामा संघीय सरकारले बजेट सुनिश्चित गरिदिएपछि गणतन्त्र चोकदेखि शनिवारे मन्दिरसम्मको ७५० मिटर सडक कालोपत्रे भयो । यत्ति कामले सिंगो बजारको रुप बदलिएको छ । नयाँ आगन्तुकले ‘सदरमुकामको मुख्य सडककै किन यस्तो बेहाल ?’ भन्ने अवस्था भने टरेको छ । तर यो सडकको सजावट, विद्युतका संरचनाको आकर्षक ब्यवस्थापन, ब्यक्तिगत संरचनामा सुधारमा भने ध्यान पुगेको छैन् ।
दोश्रोः मुख्य बजार क्षेत्रमा सडक चौडाको सुरुआत
ठूला शहरमा चौडा सडक हामी सबैलाई आकर्षक लाग्ने कुरा हुन् । पूर्वी पहाडका सबैले ठूलै शहर बन्नुपर्छ भन्ने जोड दिएको फिदिममा चौडा सडकको आवश्यकता खड्किएको वर्षौंवर्ष भइसक्यो । तर सडकको क्षेत्राधिकार भित्रका संरचना हटाउन नसक्नु, सडक विस्तारका लागि बजेटको प्रवन्ध गर्न गराउन नसक्नुजस्ता कारणले आवश्यकता केवल शब्दमा ब्यक्त थियो ।
फिदिम बजार क्षेत्रको सडक विस्तारका लागि संयोग मिलेपछि सुरुआत हुन समय लागेन । वडाध्यक्ष भट्टराई, नगर प्रमुख ओनाहाङ नेम्वाङ लगायतको प्रयास जारी थियो, जिल्लावासी मन्त्री भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेट सुनिश्चित गर्न कठीन परेन । मन्त्री स्वयम्, नगर प्रमुख, वडाध्यक्ष सबै बसेर १७ मिटर चौडा सडक विस्तारको सहमतिपछि विस्तार कार्य सुरुआत भएको छ ।
समर्पित अस्पतालदेखि चारखम्बेसम्मको १७०० मिटर सडक आगामी वर्षसम्ममा कालोपत्रे सम्पन्न गर्नुपर्ने सम्झौतासहित विस्तार कार्य चलिरहेको छ । यसले ट्राफिक ब्यवस्थापनदेखि शहरी सुन्दरता थप्नमा मद्दत गर्ने पक्का छ ।
तेश्रोः भित्री सडक खुरुखुरु कालोपत्रे र ढलान
मुख्य सडक नै ब्यवस्थित नभइरहेको अवस्थामा शाखा सडकहरु कालोपत्रे हुनेमा धेरैलाई शंका थियो । हुन त फिदिम नगरपालिकाले फिदिम–४ मा वेलफेयर–सुम्हात्लुङ सडक ढलान गराएर सुरुआत गरेको थियो । तर फिदिम बजार क्षेत्रका स–साना सडक यत्ति चाँडै ब्यवस्थित बन्लान भन्ने निश्चित थिएन ।
वडाध्यक्ष भट्टराईका अनुसार फिदिममा झण्डै एक दर्जन भित्री सडक ढलान भइसकेका छन् । फिदिम माविका वुद्धमार्ग जोड्ने करीव २०० मिटरको सडक, सुजन नेम्वाङको घरबाट वुद्धमार्ग नै जोड्ने सोही लम्बाईको सडक, पुरानो मालपोत कार्यालय अगाडिबाट निकलण्ठ स्कूल हुँदै देवकोटा चोक जोड्ने करीब ३५० मिटरको सडक, लिलानाथ निरौलाको घरबाट सगुन होटल हुँदै चौतारेलाइन जोड्ने सडक ढलानको कार्य पूरा भइसकेको छ ।
यस्तै करीब १.७ किलोमिटरको नमूना लाइनबाट बसपार्क जोड्ने सडक कालोपत्रे भइरहेको छ । भानुमार्गबाट वीपीमार्ग जोड्ने सडक ढलान समेत अगाडि बढ्न लागेको छ । संघीय सरकारले बजेट सुनिश्चित गरिदिँदा धनेश्वर गजुरेलको घरबाट केबी रानाको घर जोड्ने सडक ढलान, युके होटलबाट नमूनालाइन जोड्ने सडक ढलानको काम पनि अगाडि बढे ।
वडा कार्यालयको निरन्तर प्रयासबाट फिदिम मावि–विद्यावरदान स्कूल–ट्याङ्कीधारा–शिवालय मन्दिर सडक स्तरोन्नतिको सुरुआत भएको छ । चारबरेबाट कारागार हुँदै राबिसेधारा जोड्ने ७०० मिटर लामो सडक स्तरोन्नतिको चरणमा छ ।
संघीय सरकारबाटै फिदिम बजार क्षेत्रका शाखा सडकहरु (हुलाक लाइन, भानुमार्ग, वीपीमार्ग, वुद्धमार्ग, लखनमार्ग लगायत)को स्तरोन्नतिको ठेक्का समेत भइसकेको छ । तर निर्माण कम्पनीले समयमा काम अगाडि बढाउन नसक्दा यी सडक स्तरोन्नतिको काम हुन सकेको छैन् ।
यस्तै माथिल्लोगाउँ कोइरीबाट कञ्चनजंघा टी स्टेट जोड्ने ४०० मिटरको सडक स्तरोन्नति, रमिते देउरालीबाट नाम्दु ढोडेनी हुँदै रानीटार जोड्ने सडकको १२०० मिटर स्तरोन्नति, जिल्ला प्रहरी कार्यालयबाट गैरीबारी–बतासे ट्रनिङ जोड्ने सडक कालोपत्रे लगायतका योजना समेत अगाडि बढेको वडाध्यक्ष भट्टराईको भनाई छ ।
चौथोः ठूला पूर्वाधारको सुरुआत, तर बजेट अभावले लथालिङ्ग, पछिल्लो सरकार योजना पूर्णता दिन उदासिन
सयमक्रमले फिदिममा ठूला पूर्वाधार बन्थे । तर जिल्लाले जीताएको सांसद् मन्त्री भई जिल्लाको विकासमा तदारुकता देखाएपछि ‘सपना’ ठानिएका काम पनि धमाधम अगाडि बढे ।
वर्षौंदेखि अलपत्र नेपाल खाद्य संस्थानको फिदिमको लखनमार्गमा अवस्थित जग्गामा सिटी हल निर्माणको काम अगाडि बढ्यो । बजेट सुनिश्चित भई यसको ठेक्का पनि भएको छ । तर अघिल्लो सरकारले अगाडि बढाएका योजनामा वर्तमान सरकारले पर्याप्त बजेट छुट्ट्याएन । ठूला सभा सम्मेलन खुल्ला आकाशमुनि गर्नुपर्ने बाध्यता हटाउन सिटी हल अत्यावाश्यक थियो । तर उक्त संरचना निर्माण वर्तमान सरकारको प्राथमिकतामै परेको छैन् ।
सधैँ अब्यवस्थित फिदिम माविको स्वामित्वमा रहेको फिदिम खेलमैदान निर्माणको काम पनि अगाडि बढ्यो, तर वीचैमा रोकियो । यो खेलमैदान निर्माणका लागि शिलान्यास हुँदा कतिपयले आलोचना पनि नगरेका होइनन् । तर जव निर्माण कार्य थालियो, धेरैले सपना पूरा हुने आकाङ्क्षा राखे । काम अधकल्चो भएपछि बजेट अभाव देखाउँदै राष्ट्रिय खेलकुद परिषदले निर्माण कम्पनीलाई निकासा दिन छाड्यो । फलस्वरुपः अहिले निर्माण कार्य अलपत्र परेको छ ।
पाँचौंः बजार बाहिरका सडकको सुधार
फिदिम–१ फिदिम बजार मात्रै होइन्, बाहिर पनि हो भन्ने मान्यतालाई वडाध्यक्ष भट्टराईले साथ दिनुभयो । जसअन्तर्गत दुमाबाट साँगुबोटे घाट जोड्ने मोटरबाटो, कात्तिके स्कूलबाट सिरवानी सेपेनी हुँदै फेमे खोला जोड्ने मोटरबाटो, लालीखर्कबाट चियाबगान हुँदै नाम्दु र ढोडेनी जोड्ने मोटरबाटो, माथिल्लो गाउँ अर्जुन फागोको घर हुँदै खानेपानी कार्यालय जोड्ने मोटरबाटो, देउरालीबाट नम्दु ढोडेनी हुँदै रानीटार जोड्ने मोटरबाटो, सुन्तलाबारी तीनखोप्रे सिरवानी मोटरवाटो लगायतको स्तरोन्नति, दुर्गा बाँस्कोटाको घरबाटा बराडाँडा जोड्ने मोटरबाटो ट्र्याक खोल्ने लगायत कामहरु सम्पन्न भएका छन् ।
छैटौंः ठाउँ–ठाउँमा सिंढीमार्ग
फिदिम–१ मा पैदलमार्गको सुधारका लागि झण्डै एक दर्जन स्थानमा सिंढीमार्ग निर्माण सम्पन्न भएका छन् । वडाध्यक्ष भट्टराईका अनुसार अदालत छेउबाट गैरीबारी जोड्ने सिंढीमार्ग, गोलधारे सिंढीमार्ग, सुन्तलीटोल सिंढीमार्ग, कञ्चनजंघा चिया बगानदेखि महभीर जाने सिंढीमार्ग, मेनरोडबाट वौद्ध गुम्बा जाने सिंढीमार्ग, गोलधारेबाट याङनाम जाने बाटोमा सिंढीमार्ग, साभ्राङ सिंढीमार्ग निर्माण पूरा भएका छन् ।
पूर्वाधार अन्य क्षेत्रमा
साढे दुई वर्षको अवधिमा सात स्थानमा सडक वत्ती जडान भएका छन् । विगतमा काठको पोल रहेका नाम्दु र ढोडेनीमा विद्युत विस्तारको कार्य पूरा भएको छ । झण्डै ३०० घर परिवारका लागि छुट्टै ट्रान्सफरमर र एलटी पोल विस्तारको कार्य पूरा भएको छ । यस्तै यहाँ आधारभूत स्वास्थ्य केन्द्र समेत स्थापना भएको छ ।
वडाको सेवा प्रवाहका लागि ब्यवस्थित कार्यालयको आवश्यकता भएपनि भट्टराई वडाध्यक्ष हुनुपूर्व वडा कार्यालयका लागि जग्गा समेत उपलब्ध थिएन । उहाँ वडाध्यक्ष बनेपछि उहाँकै आग्रहमा फिदिमका चन्द्रप्रसाद भट्टराईले करीब ८० लाख रुपैयाँ मूल्य पर्ने जग्गा वडा कार्यालयका लागि दान गर्नुभएको छ । उक्त जग्गा प्राप्त भएपछि भवन निर्माणमा लागि फिदिम नगरपालिकाले रु. १ करोड ७६ लाखमा ठेक्का प्रकृया अगाडि बढाएको छ ।
शिवालय मन्दिरबाट माथिल्लो गाउँहुँदै साम्दिन जोड्ने सडक, शिवालय मन्दिरबाटै रानीटार हुँदै लुङरुपा जोड्ने फिदिम–लुङरुपा सडक, अदालत लाइन हुँदै जाने फिदिम–फालोट सडकको फिदिम–नांगीन खण्ड लगायतमा समेत निर्माणका कार्य अगाडि बढ्दा फिदिम–१ का धेरै वासिन्दाले लाभ प्राप्त गरेका छन् । जसले फिदिमको रुप बदल्न ठूलो मद्दत गरेको छ ।
प्रतिक्रिया