फिदिम । स्थानीय तहको दोश्रो निर्वाचनको मिति नजिकिएपछि हाल रहेका स्थानीय तहहरुले गरेका कामको प्रगति र तीन तहको संघीय संरचनाका विषयमा समीक्षा, चर्चा परिचर्चा बढेको छ । ७५३ स्थानीय तहहरुमध्ये सुदूरपूर्व पाँचथरको भारतको सिक्किम प्रान्तसँग सीमाना जोडिने याङवरक गाउँपालिका समेत यस वहसमा जोडिएको छ ।
याङवरक गाउँपालिकाले पूर्वाधार विकास, ब्यवसायिक कृषि र पशुपालन प्रवद्र्धन, पर्यटन प्रवर्द्धन, सामाजिक सुरक्षा र समावेशी विकासमा जोड दिइरहेको छ । जनअपेक्षाअनुसार पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने क्रममा गाउँपालिका मुख्य पूर्वाधारको जग बसाल्न सफल भएको छ । गाउँपालिकाको कार्यालयले प्रकाशन गरेको प्रगति विवरणअनुसार गाउँपालिका पाँच वर्षे अवधिमा पूर्वाधार विकासका महत्वपूर्ण जगहरु बसेका छन् ।
जसअनुसार यााङवरक गाउँपालिकाको प्रशासकीय भवन निर्माणको कार्य द्रूत गतिमा अगाडि बढेको छ । यस्तै वडा नं. २ र ५ को वडा कार्यालय भवन निर्माण कार्य सम्पन्न भई नवनिर्मित भवनबाट सेवा सुचारु भएको छ ।
यस्तै याङवरक–३ ओयाममा बर्थिङ सेन्टरको भवन निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न हुन लागेको छ । वडा नं. २ बेतेनीमा बर्थिङ सेन्टर भवन निर्माणको कार्य समेत यसै आर्थिक वर्षमा सम्पन्न गर्नेगरी काम भइरहेको गाउँपालिकाले जनाएको छ ।
विगतमा स्वास्थ्य संस्था नरहेको वडा नं. ५ हिटिधारमा आधारभूत स्वास्थ्य केन्द्र निर्माण भई गत वर्षबाट सञ्चालनमा आएको छ । गाउँपालिका निर्माण भएपश्चात छ वटा खोप केन्द्रका भवनहरु निर्माण कार्य पूरा भएका छन् ।
गाउँपालिकाले याङवरक–४ मा सामुदायीक भवन निर्माण सम्पन्न भई प्रयोगमा आइसकेको छ । उक्त भवनमा अस्थायी कोभिड अस्पताल र सभा हल सञ्चालन भइरहेको छ । यस्तै वडा नं. ६ मा जेष्ठ नागरिक दिवा आश्रम निर्माण सम्पन्न भएको छ ।
गाउँपालिकाले कृषि क्षेत्रको सम्वद्र्धनका लागि तीन वटा कृषि संकलन केन्द्र भवन निर्माण गरेको छ । कृषि उपजहरुको संकलन, भण्डारण तथा विक्रीका लागि यी भवनहरु बहुउपयोगी भएका छन् ।
गाउँपालिको हालसम्म १० वटा विद्यालयहरुको भवन निर्माण र अन्य विद्यालयहरुको भवन मर्मत गरेको छ भने राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत वडा नं. १ को विष्णु मा.वि. र वडा नं. ६ को गणेश मा.वि.मा दुइ वटा भवन निर्माण सम्पन्न भएका छन् ।
गाउँपालिका निर्माणपछि चिवाभञ्ज्याङमा एउटा होम स्टे निर्माण भएको छ भने गत वर्ष मात्रै याङवरक गाउँपालिकामा पर्ने चिवाभञ्ज्याङ र तोरीफूलेमा सशस्त्र प्रहरी बलका दुई वटा बोर्डर आउट पोष्ट निर्माण भएका छन् । यस्तै लामपोखरी निर्मित अतिथि गहृ भवनको मर्मत कार्य सम्पन्न भएको छ । यहाँ अहिले बीओपी बसेको छ ।
याङवरक गाउँपालिकाकै गौरवका रुपमा याङवरक–४ सुब्बाडाँडामा १५ शैयाको अस्पतालको भवन निर्माण कार्य सुरु भएको छ । आगामी २ वर्षमा निर्माण कार्य सम्पन्न हुने गरी अस्पताल भवन निर्माणको ठेक्का सम्झौता सम्पन्न भई निर्माण कार्य प्रारम्भ भएको छ । यस्तै वडा नं. ४ को कार्यालय तथा स्टोरका लागि नयाँ भवन निर्माण सम्पन्न भएको छ ।
गाउँपालिकाले गौरवको योजनाका रुपमा वहुउद्देश्यीय कवर्ड हल निर्माणका लागि ठेक्का प्रकृया पूरा गरेको छ । उक्त हल निर्माण कार्य चालु आर्थि वर्षबाटै सुरुआत गराउने गाउँपालिकाले योजना बनाएको छ ।
ठूला आयोजना पूर्णतातर्फ
याङवरक गाउँपालिका निर्माण भएपछि ठूला खानेपानी आयोजनाहरु निर्माण सम्पन्न भएका तथा निर्माण सम्पन्न हुने चरणमा पुगेका छन् । जसअनुसार याङवरक गाउँपालिका वडा नं. ४ को चिण्डे असिने बृहत खानेपानी योजना निर्माण सम्पन्न भएको छ ।
यस्तै वडा नं. ४ मै दुई वटा दाहालगाउँ खानेपानी योजना सम्पन्न भएका छन् भने केरावारी लुम्बु ठोट्ने बृहत खानेपानी योजना समेत निर्माण सम्पन्न भएको छ । यस्तै याङवरक–५ सिम्ले निगाने कामीटार इम्वुङधारा याङसिबुङ बृहत खानेपानी योजनाको ठेक्का प्रकृया पूरा भएको छ । उक्त योजना चालु आर्थि वर्षमै निर्माण कार्य पूरा हुन लागेको छ । यस्तै वडा नं. ६ मा सालबोटे खानेपानी योजना सम्पन्न सम्पन्न भएको छ ।
याङवरक गाउँपालिकाका ६ वटै वडामा गरी २० वटा साना तथा ठूला खानेपानी योजना निर्माण तथा मर्मत सम्पन्न भएका छन् भने सात वटा खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । यस्तै सीमा क्षेत्र चिवाभञ्ज्याङमा वि.ओ.पी. स्थापनाका लागि गाउँपालिकाले नै खानेपानी योजना निर्माण गरिदिएको छ । यस्तै वासुङ खोला खानेपानी योजना तथा च्याङथापु खोलाघारी बृहत खानेपानी योजना सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
सिंचाईमा निरन्तर लगानी
याङवरक गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि सिंचाईमा निरन्तर लगानी गरिरहेको छ । यस क्रममा वडा नं. ६ मा एउटा सिंचाई योजना सञ्चालनमा छ भने हालसम्म १३ वटा साना र ठूला सिंचाइ योजना निर्माण तथा मर्मत सम्पन्न भएका छन् । साना सिंचाई कार्यक्रम अन्तरगत वडा नं. ३ र ६ मा २ वटा योजना गत आर्थिक वर्षदेखि सञ्चालनमा रहेका छन् । ती योजना चालु आ.व.मा सम्पन्न हुनेछन् भने सोहि कार्यक्रम अन्तर्गत चालु आ.व.मा थप ८ वटा सिंचाई योजनाहरु सञ्चालनको प्रकृयामा अगाडि बढेका छन् ।
गाउँपालिकाले लघु जलविद्युतको मर्मत र सम्वद्र्धनमार्फत विद्युतीकरणलाई अगाडि बढाउन छ वटा लघु जलविद्युत योजना मर्मतका लागि सहयोग गरेको छ । गाउँपालिका निर्माण भएपछि जिल्लाकै सुदूर क्षेत्र मानिने याङवरक गाउँपालिका वडा नं. १, २ र ३ मा विद्युतको केन्द्रीय प्रशारण लाइन विस्तार भएको छ । बाँकी वडामा केन्द्रीय प्रशारण लाइन विद्युत सहकारीमार्फत निर्माण तथा सञ्चालनको क्रममा रहेको छ । यस्तै गाउँपालिकाले साना र ठूला गरी ८ वटा खेलमैदान निर्माण गरेको छ ।
प्रतिक्रिया