पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फाल्गुनन्द–१ मा गठबन्धन विजयी, कमजोर ठानिएको एमालेले पायो एकतिहाई मत

चिन्तन खबर

फिदिम । जिल्लाको फाल्गुनन्द गाउँपालिका वडा नं. १ को वडाध्यक्ष सहितका पदमा नेपाली काँग्रेस नेतृत्वको गठबन्धनका उम्मेद्वार विजयी भएका छन् ।

उक्त वडाको वडाध्यक्षमा गठबन्धनका होमप्रसाद आङदेम्बे ९८७ मत प्राप्त गर्दै विजयी हुँदा नेकपा (एमाले) र जनता समाजवादी पार्टीको तालमेलका उम्मेद्वार शान्ति लिम्बू आङदेम्बेले ५०५ मत प्राप्त गर्नुभएको छ । यहाँ वडा सदस्यमा गठबन्धनका कमलादेवी पराजुली, कमला दर्जी, दिलकुमार आङदेम्बे र रामराज आङदेम्बे विजयी हुनुभएको छ । यहाँ वडाका अधिकांश पदमा मतान्तर आधा भएपनि यो एमालेका लागि सकारात्मक परिणाम देखिएको छ ।

अघिल्लो निर्वाचनमा क्रमशः पहिलो र दोश्रो बनेका काँग्रेस र माओवादी केन्द्रले तालमेल गर्नुका साथै एमाले विभाजनपछि एमालेलाई शून्य पारेको दाबी गरेको एकीकृत समाजवादी समेत यो वडामा गठबन्धनमा थियो । तर जसपासँगको सहकार्यमा एमालेले सम्मानजनक मत पाएको हो ।

यहाँबाट गठबन्धनका गाउँपालिका अध्यक्षका उम्मेद्वार बृजहाङ आङदेम्बेले १०५१ मत प्राप्त गर्दा एमालेका वीरबहादुर कुरुम्बाङले ५४३ मत पाउनुभएको छ । यस्तै उपाध्यक्षमा गठबन्धनका ठाकुरसिंह नेम्वाङले ९४३ मत प्राप्त गर्दा एमालेसँगको तालमेलमा रहेको जसपाकी बविता नेम्वाङले ४५१ मत प्राप्त गर्नुभएको छ ।

यो वडा नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बे, माओवादी केन्द्रका नेता एवम् संविधानसभा सदस्य ध्रुवराज आङदेम्बेको वडा हो । वडामा गठबन्धनलाई विजयी गराउन दुवै नेता यहाँ खटिनुभएको थियो । तर एमालेले करीब एक तिहाई मत हाँसिल गर्दै बलियो उपस्थिति देखाएको छ ।