पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनताको समृद्धिमा ध्यान दिई नीति र बजेट बनाउन पूर्वमन्त्री नेम्वाङको सुझाव

मूल्य वृद्धि, आर्थिक संकट र पूर्वाधार निर्माण रोकिएकामा चिन्ता ब्यक्त

रवीन्द्र काफ्ले

फिदिम । पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री वसन्तकुमार नेम्वाङले जनताको समृद्धिमा ध्यान दिने नीति र बजेट निर्माण गर्न स्थानीय सरकारहरुलाई सुझाव दिनुभएको छ ।

पाँचथरको याङवरक गाउँपालिकाको ११औं गाउँसभालाई आज आयोजित कार्यक्रममा सम्बोधन गर्दै पूर्वमन्त्री नेम्वाङले जनताको सवाल राख्ने पहिलो थलो भएकाले यहाँको समृद्धिका लागि गाउँपालिका र गाउँपालिकाका सबै जनप्रतिनिधि उत्तिकै जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

“मैले प्रतिनिधिसभामा बोल्दा मेरो जिल्लाको कुरा उठाएझैं यहाँ सबै जनप्रतिनिधिले माग राख्नुहुन्छ नै”, नेम्वाङले भन्नुभयो, “तर प्राथमिकताका आधारमा समन्यायीक, समानुपातिक र भौगोलिक सन्तुलनका आधारमा बजेट र योजना कार्यान्वयनमा जान म सुझाव दिन चाहन्छु । गाउँपालिकावासीलाई राहत मिल्ने र समृद्ध गाउँपालिका निर्माणको आधार बन्नसक्ने नीति र बजेट बनाउनु होला ।”

उहाँले स्थानीय तहमा सत्तापक्ष र प्रतिपक्ष नभएकाले स्थानीय सरकारप्रति गाउँपालिकावासीहरुमा उपस्थिति र अपनत्वको अनुभूत हुनुपर्ने वताउनुभयो । संघ र प्रदेशले सम्बोधन नगरेका, बजेट बनाउने नीति निर्माण र कार्यान्वयन गर्ने आफ्नो अधिकार क्षेत्रका कार्यहरु, जनताको अथाह अपेक्षाका विषयहरु सम्बोधनमा लाग्नुपर्ने विशाल क्षेत्राधिकारलाई समुचित सदुपायोग गर्न उहाँले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

नेम्वाङले समग्र मुलुकको आर्थिक अवस्था डामाडोल बन्दै जाँदा विकास निर्माण प्रभावित भएकाप्रति गम्भीर चिन्ता ब्यक्त गर्नुभयो । “महङ्गीले डाँडा काटेको छ । पेट्रोलियम पदार्थको मूल्य उस्तै आकाशिएको छ”, उहाँले भन्नुभयो, “विगतमा थालिएका योजना निर्माण ब्यवसायीले पूरा गर्न सक्लान कि नसक्लान भन्ने चिन्ता छ । निर्माण ब्यवसायीहरु आन्दोलित बनेका छन् । ठूला पूर्वाधारका आयोजना सम्पन्नता चिन्ताको विषय बनेको छ ।”

आफू संघीय संसदमा प्रतिनिधित्व गर्ने जिल्लाको एकमात्रै जनप्रतिनिधि हुनुका हैसियतले विगतमा थालिएका विकासका कार्य पूरा हुनुपर्छ, महंगी नियन्त्रण हुनुपर्छ, ठेकेदारलाई भुक्तानी दिनुपर्छ, जनतालाई मल दिनुपर्छ भनेर निरन्तर आवाज उठाउँदै आएको उहाँले स्मरण गराउनुभयो । “मुलुक कता जाँदै छ भन्ने चिन्ता सबैले लिनुपर्ने अवस्था छ र सरकारहरुमाथि प्रश्न चिन्ह उठेको छ”, नेम्वाङले थप्नुभयो ।

संघ, प्रदेश र स्थानीय सरकार मिलेर याङवरकलाई समृद्धिको मार्गमा अघि बढ्ने, बढाउने दायित्व र जिम्मेवारी स्थानीय जनप्रतिनिधिहरुको भएकामा समेत गराउँदै नेम्वाङले गाउँपालिकाभित्रका सबै तहबाट सञ्चालित योजनाको प्रभावकारिताका लागि सबै जनप्रतिनिधिको भूमिका आवश्यक रहेको वताउनुभयो । समृद्ध याङवरक निर्माणका लागि विगतबाट अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरु अगाडि बढेको पाएको भन्दै उहाँले विगतमा सुरुआत भएका पर्यटन, कृषि, रोजगारी, भौतिक पूर्वाधार लगायतका योजनाहरुको निरन्तरतामा जोड दिनुभयो ।

याङवरका संघीय सरकारले केचना कञ्चनजंघा पर्यटकीय सडक, मध्यपहाडी राजमार्गको सुरुआत खण्डको कालोपत्रे, छिमेकी मुलुकसँगको सीमानासम्म विद्युत पु¥याइदै गरेको, थर्पू–दाहालगाउँ सडकको स्तरोन्नति सुरु भएको, याङवरकलाई समेत लाभ मिल्ने तमोर कोरिडोर कालोपत्रे लगायत महत्वपूर्ण योजनाहरु अघि बढेको उहाँले वताउनुभयो ।

नेम्वाङले स्थानीय तहको सहभागिता, समन्वय, ध्यान र चासो मध्यपहाडी राजमार्गको सुरुआत खण्डको कालोपत्रेका लागि हुनुपर्नेमा जोड दिँदै भन्नुभयो, “गाउँपालिकाले संघीय कार्यान्वयन इकाईहरुलाई घच्घच्याउनु पर्छ, जसले निर्माण ब्यवसायीलाई समेत सचेत बनाउँछ ।” उहाँले चिवाभञ्ज्याङसम्म विद्युत विस्तार हुनु सामान्य कुरा नभएको उल्लेख गर्नुभयो ।

प्रदेश र संघका सबै योजनाहरुमा गाउँपालिकाले सहयोग पु¥याउने, जानकारी राख्ने, आवश्यक परे तिनको सहयोग लिने जस्ता नीति गाउँपालिकाले गाउँसभाबाट बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । “कहाँबाट योजना आउँछ ? को उपभोक्ता समितिमा बस्छ ? कसले खर्च गर्छ ? भन्ने कुरा थाहा नहुने अवस्थाको अन्त्य गरिनुपर्छ । यस प्रकारका प्रयास पनि याङवरकको समृद्धि, विकास र सुशासनका लागि आधार हुन सक्छन्”, नेम्वाङले भन्नुभयो ।

याङवरकमा विगतमा भौतिक पूर्वाधारमा ठूल्ठुला कार्यहरु सुरुआत भएको वताउँदै पूर्वमन्त्री नेम्वाङले जिल्लाका आठ वटा स्थानीय तहमध्ये उत्कृष्ट गाउँपालिका बनेर अघि बढेको कार्यको दायित्व नयाँ सरकार पाएको वताउनुभयो । बजेटको धेरै हिस्सा सुरुआत भएका ठूला पूर्वाधारतर्फ जाने अवस्था रहेको वताउँदै उहाँले विवेकपूर्ण रुपमा विकास र समृद्धिका कार्य अघि बढाउनु उचित हुने वताउनुभयो ।

गाउँसभामा गाउँपालिका अध्यक्ष भीमबहादुर योङया (सुवास)ले गाउँपालिकाको नीति तथा कार्यक्रम र गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङ्बोले गाउँपालिकाको बजेट तथा कार्यक्रम पेश गर्नुभएको छ ।