क्यानबेरा (रासस/सिन्ह्वा) । अस्ट्रेलियामा कोभिड–१९ सङ्क्रमण दर बढेको र अहिलेसम्म सङ्क्रमितमध्ये १० हजार व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ ।
अस्ट्रेलियाले आइतबार थप ३० कोभिड सङ्क्रमितको मृत्युको पुष्टि गरेको छ । कोभिडका कारण सन् २०२२ मा सात हजार ५०० भन्दा बढी कोभिड सङ्क्रमितको मृत्यु भएको हो । अष्ट्रेलियामा यस अवधिमा धेरै हदसम्म कोभिड नियन्त्रणका लागि अपनाइएका प्रतिबन्धहरू खारेज गरिएको छ ।
मृतकमध्ये अस्ट्रेलियाको कूल जनसङ्ख्याको ५५ प्रतिशतभन्दा बढी जनसङ्ख्या रहेको भिक्टोरिया र न्यू साउथ वेल्स राज्यमा ७५ प्रतिशतभन्दा बढी रहेका सरकारले जनाएको छ । अस्ट्रेलियामा कोरोनाभाइरसका कारण मृत्यु हुनेमा झन्डै ३५ प्रतिशत मृत्यु ८०–८९ वर्ष उमेर समूहका व्यक्तिको भएको छ भने ९० वर्ष र त्यसभन्दा माथिका व्यक्तिहरूको २५ प्रतिशत मृत्यु भएको थियो ।
आइतबार अस्ट्रेलियाभरि ३० हजारभन्दा बढी व्यक्तिमा कोभिडको थप सङ्क्रमण भएको छ । महामारी सुरु भएदेखि यहाँ कूल ८२ लाख व्यक्तिमा सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा ज्येष्ठ नागरिक सेवा मन्त्री मार्क बटलरले हालै मानिसहरूलाई थप सुरक्षाका लागि कोभिडविरूद्धको खोपको अतिरिक्त (बुस्टर) मात्रा लिन आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया