काठमाडौं । राष्ट्रिय जनसाँस्कृतिक महासंघको आयोजनामा राजनीतिक, वैचारिक तथा साँस्कृतिक प्रशिक्षण कार्यक्रम शनिवार काठमाडौंमा सम्पन्न भएको छ ।
महासंघको नेपाल केन्द्रीय कमिटीको आयोजना तथा महासंघ वागमती प्रदेश कमिटीको ब्यवस्थापनमा महासंघमा आवद्ध कला संस्कृतिकर्मीहरुको सहभागितामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । महासंघका उपाध्यक्ष भूमिका सुब्बाको अध्यक्षतामा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रम नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं कला, साहित्य र संस्कृति विभागका प्रमुख रघुजी पन्त, स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकाल, केन्द्रीय सदस्य एवं राष्ट्रिय जनसाँस्कृतिक महासंघका इन्चार्ज खगेन्द्र राईले राजनीतिक, वैचारिक तथा साँस्कृतिक प्रशिक्षण दिनुभएको थियो । कला तथा संस्कृतिकर्मीहरुलाई बदलिएको परिस्थितिबारे राजनीतिक, वैचारिक तथा साँस्कृतिक विषयमा स्पष्ट पार्न प्रशिक्षण कार्यक्रम आयोजना गरिएको महासंघका उपाध्यक्ष एवं कार्यक्रमका अध्यक्ष सुब्बाले वताउनुभयो ।
उक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धनको सरकार थप एक वर्ष कायम रहे मुलुक श्रीलंकाको बाटोमा जाने निश्चित रहेको वताउनुभयो । महासचिव पोखरेलले सरकार अहिलेकै अवस्थामा अघि बढे अर्को एक वर्ष विदेशी मुद्राको सञ्चिती शून्य अवस्थामा पुग्ने र मुलुक श्रीलंकाको बाटोमा जाने वताउनुभयो ।
मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको र जनताको जीवन सहज बनाउने काममा सरकार पूर्ण रूपमा असफल भएको उहाँले वताउनुभयो । महासचिव पोखरेलले गठबन्धन मिलेर र एमाले एक्लै स्थानीय तहको चुनाव लड्दा पनि एमालेलाई जनताले अधिक साथ दिएको तथ्याङ्क पेश गर्दै जनताका पक्षमा कला साहित्यकर्मी लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सत्ताको विरोध र भण्डाफोरलाई तीव्र बनाए आगामी निर्वाचनमा एमालेका पक्षमा अधिकतम जनाधार निर्माण हुने वताउनुभयो । पोखरेलले समाजलाई बाटो देखाउने सामथ्र्यलाई परिचालन गरेर पार्टीका पक्षमा जनमत सिर्जना गर्न निर्देशन समेत दिनुभयो ।
राष्ट्रिय जनसाँस्कृतिक महासंघ जनताको मनोविज्ञानलाई परिवर्तनका पक्षमा, जागरणका पक्षमा ल्याउने आन्दोलन भएकाले यस आन्दोलनले अव राष्ट्र निर्माणको नयाँ आन्दोलनमा भूमिका खेल्नुपर्ने आवश्यकता रहेको महासचिव पोखरेलले वताउनुभयो । परिस्थिति बदलिएअनुसार जिम्मेवारी बदलिएको महशुस गर्दै नयाँ सोच र मान्यताका आधारमा समाजलाई डोहोर्याउन महासंघले अगुवाई गर्नुपर्ने उहाँको भनाई थियो ।
नयाँ राष्ट्रिय मनोविज्ञान निर्माण गर्दै समृद्ध र समुन्नत राष्ट्र निर्माण गर्ने अठोटमा महासंघ अग्रमोर्चामा उभिनुपर्ने वताउँदै महासचिव पोखरेलले ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्दै समाजवादका आधार तयार गर्न सबै पक्षले भूमिका खेल्नुपर्ने वताउनुभयो ।
प्रतिक्रिया