Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
पछिल्लो विश्व राजनीतिको असर र नेपालको परराष्ट्र नीतिवारे राष्ट्रपतिको गम्भीर चासो « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

पछिल्लो विश्व राजनीतिको असर र नेपालको परराष्ट्र नीतिवारे राष्ट्रपतिको गम्भीर चासो

चिन्तन खबर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व परराष्ट्रमन्त्रीहरूसँग समसामयिक विश्व राजनीति र त्यसले नेपालमा पार्नसक्ने असरबारे छलफल गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित छलफलमा पूर्व परराष्ट्रमन्त्रीहरू रमेश नाथ पाण्डे, प्रकाशचन्द्र लोहनी, प्रदीप कुमार ज्ञवाली र प्रकाश शरण महत सहभागी हुनुहुन्थ्यो ।

रसिया–युक्रेन युद्धदेखि पछिल्लो समय विकसित ताइवान तनावलाई लिएर विश्व शक्तिहरु विभाजित भइरहँदा नेपालमा पनि त्यसको असर देखिएका बेला राष्ट्रपतिले यो छलफल गर्नुभएको हो । पूर्व परराष्ट्रमन्त्री तथा एमाले उपमहासचिव ज्ञवालीका अनुसार बदलिँदो विश्व राजनीति तथा भूराजनीतिक चुनौतीले नेपालमा पार्नसक्ने असरबारे राष्ट्रपतिले चासो ब्यक्त गर्नुभएको छ ।

“अहिलेको पछिल्लो अन्तर्राष्ट्रिय परिस्थिति र त्यसले नेपाललाई पार्ने प्रभाव र त्यसमा दलहरुले के सोचिरहेका छन् भन्ने राष्ट्रपतिको जिज्ञासा थियो, हामीले हाम्रा अनुभव र आफूलाई लागेका कुरा बतायौँ” ज्ञवालीले भेटबारे भन्नुभयो । छलफलमा सहभागी पूर्व परराष्ट्र मन्त्री डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रपतिले पछिल्लो विश्व राजनीतिक घटनाक्रमबारे चासो राखेको वताउनुभयो ।

राष्ट्रपतिसँग आफूले पछिल्लो विश्व राजनीतिक परिस्थिति हेर्दा दोस्रो शीत युद्धको सुरुवात भइसकेको विश्लेषण सुनाएको उहाँको भनाई थियो । “सबै कुरामा छलफल राम्रो भएको छ। उहाँ (राष्ट्रपति) ले चासो राखेका विषयमा हामीले आफ्नो धारणा राख्यौँ। मैले अहिलेको अवस्थामा दोस्रो शीत युद्ध जस्तो सुरु भएको कुरा राखेँ। नेपालमा त्यसको प्रभाव परेको पनि उल्लेख गरेँ”, लोहनीले भन्नुभयो, “ठूलो शक्ति चीनसँग नेपालको १४ सय किलोमिटर लामो सीमा छ। तर अहिले चीन र अमेरिकाबीच दुष्मनीपूर्ण व्यवहार भइरहेको छ, त्यसमा भारत पनि थपिएको छ। यसरी तीनै शक्तिको चासो नेपालमा बढेको छ।”

उहाँले नेपालले यस्तो चुनौतीपूर्ण बेलामा आफ्नो सार्वभौमिकता र स्वतन्त्रताको सीमाभित्र रहेर तीनवटै शक्तिको विश्वास लिनुपर्नेमा नसकिरहेको बताउनुभएको थियो । शक्ति राष्ट्रहरु अमेरिका, चीन र भारतबीच नेपाल मामिलालाई लिएर भूराजनीतिक प्रतिस्पर्धा चलिरहेकालाई राष्ट्रपतिले विज्ञहरुसँग अर्थपूर्ण छलफल गर्नुभएको हो ।

“नेपाल र नेपालका नेताहरुले हाम्रा स्वार्थहरुप्रति पनि संवेदनशील हुँदै तीनवटै शक्तिको विश्वास जित्न सक्नुपर्छ”, लोहनीले राष्ट्रपतिसँगको भनाइबारे भन्नुभयो, “तर त्यो चुनौती बीच विश्वास जित्ने काम अहिले भएको छैन। विश्वास गुमाउने कामहरु नै भइरहेका छन् भन्ने विश्लेषण मैले राष्ट्रपतिलाई राखेँ।” लोहनीले अहिलेको संकटपूर्ण अवस्थाबाट पार पाउन राजा वीरेन्द्रले राखेको शान्ति क्षेत्रको प्रस्ताव अघि बढाउँदा सान्दर्भिक हुने सुझाव पनि राष्ट्रपतिलाई दिनुभएको छ ।

लोहनीका अनुसार त्यसक्रममा राष्ट्रपति भण्डारीले विश्वमा विकसित पछिल्लो राजनीतिक परिस्थितिबारे सबैसँग जिज्ञासा राख्नुभएको थियो । “विश्वमा यस्तो भइरहेको छ, हाम्रो परराष्ट्र नीति सञ्चालन कस्तो छ ? कसरी विश्लेषण गरिरहनु भएको छ ? भनेर उहाँ (राष्ट्रपति) ले सोध्नु भयो”, लोहनीले थप्नुभयो, “हामी सबै उहाँका जिज्ञासाबारे आफ्नो धारणा दियौँ।”

पूर्व परराष्ट्रमन्त्रीहरूले देखिएका भूराजनीतिक चुनौती सामना गर्न सन्तुलित र असंलग्न परराष्ट्र नीतिमा नेपालले जोड दिनुपर्ने धारणा राखेका थिए। परराष्ट्रनीतिको प्रभावकारी कार्यान्वयनमा राष्ट्रिय सहमति आवश्यक रहेको पूर्व परराष्ट्र मन्त्रीहरुको भनाइ थियो। संयुक्त रुपमा भेटेपछि राष्ट्रपति भण्डारीले पूर्वपरराष्ट्रमन्त्री पाण्डेसँग आधा घण्टा एक्लै भेटघाट गर्नुभएको थियो ।

करिब दुई घण्टा पूर्व परराष्ट्रमन्त्रीहरूसँग राष्ट्रपति भण्डारीले अन्तराष्ट्रिय परिस्थिति र त्यसले नेपालमा पार्ने असरबारे छलफल गरेको प्रेस विज्ञ टिका ढकालले वताउनुभयो । “राष्ट्रपतिले समय समयमा प्रबुद्ध व्यक्तित्वहरुसँग समसामयिक विषयमा परामर्श गर्ने गर्नुहुन्छ, आजको छलफल पनि त्यसकै निरन्तरता हो”, उहााले भन्नुभयो ।